‘रुपन्देहीमा भारतीय अपराधीमाथि गोली नचलाएको भए नेपाली प्रहरी मारिन्थे’


 


काठमाडौं । रुपन्देहीको शंकरपुरमा बिहीबार राति भारतीय आपराधिक समूहले आक्रमण गरेको छ । भारतबाट हतियारसहित छिरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिन खोज्दा त्यहाँ ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण भएको हो ।

भारतबाट आएका ५० वर्षीय झिनक धोबीलाई नियन्त्रणमा लिन खोज्दा हल्ला गरेपछि सयौंको संख्यामा भारतीय नागरिक नेपाल प्रहरीमाथि आक्रमणमा उत्रिएका थिए । पक्राउ परेका धोबीले प्रहरीमाथि नै पेस्तोल ताकेका थिए ।

धोबीलाई पक्राउ गरेपछि भारतीय समूहले नेपाल प्रहरीमाथि लाठी र ढुङ्गामुढा प्रहार गरेको थियो । भारतीयको आक्रमणबाट प्रहरी तेजबहादुर कुँवर, प्रेमबहादुर आले र विक्रम मल्ल घाइते भएका हुन् । प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलले भने, ‘‘प्रहरीमाथि नै आक्रमण भएपछि हवाइ फायर समेत गर्यौं । अवस्था नियन्त्रणबाहिर गएपछि प्रतिरक्षाका लागि गोली चलाएका हौं । प्रहरीले गोली नचलाएको भए अवस्था अर्कै हुन्थ्यो ।’’

घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले बाह्रखरीसँग भने, ‘‘उनीहरुले हामीलाई मार्ने उद्देश्यले नै आक्रमण गरेका हुन् ।’’ तराईका जिल्लामा भारतीय अपराधीले यसअघि पनि प्रहरीलाई निसाना बनाउँदै आएका थिए । प्रहरीको गोली लागेर घाइते भएका महाराजगञ्ज सुनौली थानाका दीलिप धोबीलाई भारतीय समूहले खोसेर लगेको थियो । धोबीको उपचारका क्रममा भारतमै मृत्यु भएको भारतीय सुरक्षा अधिकारीले नेपाल प्रहरीलाई जानकारी दिएका छन् । पक्राउ परेका झिनक धोबी हतियार हतियार कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिआईजी पोखरेलले बताए । पोखरेलले भने, ‘‘उनले त्यो हतियार कसलाई दिन खोजेका थिए । यसबारे अनुसन्धान गरिरहेका छौं ।’’

भारतीय आपराधिक समूहले नेपाली भूमिमै प्रवेश गरेर सुरक्षाकर्मीमाथि गरेको आक्रमणको पूर्व प्रहरी अधिकारीले निन्दा गरेका छन् । पूर्व डिआईजी हेमन्त मल्लले भने, ‘‘एउटा सार्वभौम मुलुकको सुरक्षाकर्मीमाथि अर्को देशको समूहले गरेको आक्रमण सामान्य कुरा होइन । यसबारे केन्द्र र प्रदेश सरकार जिम्मेवार भएर सोच्नैपर्छ ।’’ सीमामा नेपाल प्रहरीमाथिको आक्रमणले थप चिन्ता बढाएको उनले बताए । ‘‘राज्यले यस्ता प्रकारका अपराधिक सूचना संकलनका लागि इन्टेलिजेन्समा लगानी गर्नैपर्छ । सीमा सुरक्षामा प्रविधिको प्रयोग गर्नुपर्छ । नत्र प्रहरीमाथि फेरि आक्रमण नहोला भन्न सकिन्न ।’’

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्