ओलीले नमानेपनि प्रचण्डको चेतावनीपछि युवा संगठनमा दीपशिखा


 


काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा उसको नयाँ युवा संगठनको नेतृत्वको जिम्मा कसलाई दिने भन्नेबारेको मतभेद लामो छलफलपछि अन्ततः टुंगिएको छ।

पूर्ववर्ती एमालेको युवा संघ नेपाल र माओवादीको वाइसिएल नेपालबीच एकता गरी जन्मने नयाँ जनवर्गीय संगठनको नेतृत्वको जिम्मेवारी वाइसिएलका हालका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखालाई दिने निर्णय नेकपाले गरेको छ।

नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दीपशिखाको पक्षमा अडान लिँदै उनलाई पाखा लगाएमा अन्य जनवर्गीय संगठनको एकतामा पनि समस्या आउने घुमाउरो चेतावनी दिएपछि पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पूर्व अडान फिर्ता लिन बाध्य भएका छन्।

यसअघि ‘राष्ट्रपतिको मेरो सरकार प्रकरण’लाई लिएर दीपशिखाले ओली नेतृत्वको सरकारको कटाक्ष गरेपछि प्रधानमन्त्री ओलीले उनलाई नयाँ जनवर्गीय संगठनको नेतृत्व नदिने अडान लिएका थिए।

त्यसबारे औपचारिक घोषणा नेकपाले आफ्नो स्थापनाको दिन अर्थात भोलि शुक्रबार गर्ने तयारी गरेको छ। नेकपाले पोलिटव्युरो गठनको औपचारिक जानकारी पनि भोलि नै दिने तयारी गरेको छ।

यसैबीच नेकपाले भोली आफ्नो स्थापना दिवसका अवसरमा राजधानीमा विशेष कार्यक्रम गर्ने तयारी गरेको छ। मदन आश्रित दिवसका अवसर पारेर गत वर्ष जेठ तीन गते पूर्ववर्ती नेकपा एमाले र माओवादी पार्टी मिलेर नेकपा जन्माइएको थियो।

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्