नेपाल मलेसियासँग आज बेलुकी भिड्दै
काठमाडाैं, चैत्र १४
नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको बाइस वर्षमुनि (यु–२२) को राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा नेपाली समयअनुसार आज बेलुकी सवा ६ बजे नेपाली टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि भारतमा सम्पन्न बाहौं दक्षिण एसियाली खेलकुद (साग) र बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको नेपाली टोली त्यसपछिको पहिलो मैत्रीपूर्ण खेलमा पनि उच्च मनोबलको साथ मैदानमा उत्रने आशा गरिएको छ । साग र बङ्गबन्धुमा नेपालले स्वर्णपदक जितेको थियो ।
त्यस्तै, केही समयअघि मात्र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नियुक्त गरेको नयाँ जापानी प्रशिक्षक ग्यातुकी कोजीको प्रशिक्षणमा नेपाली टोलीले पहिलो पटक फुटबल प्रतियोगितामा सहभागिता जनाउँदैछ ।
नेपालको टोलीमा तीन गोलकिपर, नौ डिफेन्डर, छ मिडफिल्डर र पाँच फरवार्ड गरी २३ सदस्य छन् । गोलकिपरमा विकेश कुथू, विशाल श्रेष्ठ र किरणकुमार लिम्बू छन् भने डिफेन्डरमा विजय धिमाल, विराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मनबहादुर तामाङ, रविन श्रेष्ठ र रञ्जित धिमाल छन् ।
त्यसैगरी, मिडफिल्डरमा विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ र सुनिल बल समावेश छन् । फरवार्डमा भरत खवास, विश्वास श्रेष्ठ, नवयुग श्रेष्ठ, रञ्जन विष्ट र सुमन लामा छन् ।
प्रकाशित मिति: १४ चैत्र २०७२, आइतबार