आत्महत्या गर्न बाध्य पार्नेलाई ५ बर्ष कैद !


 


विराटनगर । मोरङमा प्रहरीले आत्म हत्या गर्न बाध्य बनाउनेहरुलाई दुरुत्साहन मुद्दा लगाउन थालेको छ ।
अनुसन्धान गर्दा अर्काले दिएको शारीरिक र मानसिक यातनाबाट आत्महत्या गरेको खुलेपछि मोरङ प्रहरीले आत्महत्या गर्न बाध्य बनाएको आरोपमा नयाँ फौजदारी अपराध संहिता अनुसार दुरुत्साहन मुद्दा लगाउन थालेको हो ।

मोरङ प्रहरीले नयाँ फौजदारी अपराध संहिता जारी भएपछि चालु बर्षमा ३ वटा आत्महत्या गर्न बाध्य पारेको आरोपमा दुरुत्साहन मुद्दा मोरङ जिल्ला अदालतमा दर्ता गराइसेको छ । जसमा एउटा मुद्दामा एक पुरुष अभियुक्त धरौटीमा छाडिएका छन् भने एक पुरुष अभियुक्त फरार छन् । एक जना महिला अभियुक्तलाई प्रहरीले पक्राउ गरेर मुद्दा दर्ता गराएर अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाका प्रहरी कार्यालय बेलबारीले ओखलढुंङा स्थायी घर भै सुन्दरहरैचा–१ बिराटचौकमा रोजगारी गरेर बस्दै आएका ४० बर्षिय प्रेम राईलाई सोही ठाउँ माइती भएकी एक महिलाले दुरुत्साहन गरेको आरोपमा अदालतमा मुद्दा दर्ता गराएको छ । मोरङ सुन्दरहरैचा–१ माइती भएकी ३५ बर्षिया एक महिलाले राईलाई आफुलाई जिम्मा लिएर पाल्नु पर्ने नत्र सम्पत्ती दिनुपर्ने भन्दै निरन्त दबाब दिदै आएकी थिइन् । पोल्टिर्फममा रोजगारी गर्ने बिवाहित राईले उनको निरन्तरको चर्को दबाब सहन नसकेर ११ चैत २०७५ मा महिलाकै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

घटना अनुसन्धान गर्दा मृतक राईसँग महिलाले पटक–पटक ब्लाकमेलिङ गरेको र सोही कारणले उनले झुण्डिएर आत्महत्या गर्न बाध्य भएको खुलेकोले थियो । यस्तै इप्रका रंगेली र रानीले पनि प्रेमको बहाना बनाएर बिवाह गर्छु भन्दै झुठो आश्वासन दिएर यौन शोषण गरि युवतीलाई आत्महत्या गर्न बाध्य पार्ने अलग अलग स्थानका दुई युवालाई आत्महत्या गर्न बाध्य बनाएको अरोपमा मुद्दा दर्ता गराएको छ ।

जसमा रंगेलीले दर्ता गरेको दुरुत्साहन मुद्दामा पुरुष अभियुक्त रंगेली नपा ८ का २९ बर्षिय बिशाल दाहाल आफु बिरुद्ध मुद्दा लागेका थाहा पाएपछि फरार छन् । उनलाई अदालतले ६० दिन भित्र हाजिर हुन वारेन्ट जारी गरेको छ । पेशाले शिक्षक रहेका बिशालले आचार्य थरकी युवतीलाई प्रेमिकाका नाममा ब्लाकमेलिङ गरेर यौन शोषण गर्दै आएका थिए । उनको शोषणबाट आजित भएर युवतीले आत्महत्या गरेकी थिईन् । उस्तै प्रकारको घटनामा इप्रका रानीले दर्ता गरेको दुरुत्साहन मुद्दामा पक्राउ परेका पुरुष अभियुक्त चाँही धरौटीमा पुर्पक्ष गर्ने गरि छाडिएका छन् ।

१ भदौ २०७५ देखी लागू भएको फौजदारी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १८५ अनुसार कसैलाई कसैले कुनै पनि कारणले आत्महत्या गर्न बाध्य हुने गरि दुरुत्साहन गर्न हुँदैन । यदी दुरुत्साहन गरेकै कारणले आत्महत्या गरेको ठहरिएमा अभियुक्तलाई ५बर्षसम्म कैद र ५० हजार रुपैयासम्म जरीवना हुने व्यवस्था छ ।

आत्महत्या जधन्य अपराध हो । आर्थिक, समाजिक र शारिरिक अनेक कारणहरुले गर्दा मानिसले बिरक्तिएर आत्महत्या गर्दछन् । तर केही आत्महत्याहरुमा बाध्य पार्ने मानिसहरु पनि जिम्मेवार हुन्छन् । यसैले आत्महत्याका घटनाको मुचुल्का सुक्ष्म रुपले तैयार गर्दा बाध्य पारेको पाईएमा प्रमाण सहित आरोपीहरुलाई पक्राउ गरेर दुरुत्साहन मुद्दा दर्ता गराउन थालेको मोरङ प्रहरी प्रबत्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । उनले भने, –‘अब कानून बनिसकेकोले कसैले शरिरिक मानसिक याताना दिएर, यौन र आर्थिक शोषण वा ब्लाकमेलिंङग गरेर वा बन्धक बनाएर आत्महत्या गर्न बाध्य बनाउनेहरु उन्मुक्ति पाउन सक्दैनन् ।’
प्रत्यक्ष अप्रत्यक्ष अरुबाट पटक–पटक पाएको शारिरिक र मानसिक यातनाबाट मानिसहरुले आत्महत्या गर्ने गरेका घटना न्युनियकरण गर्न आत्महत्या गर्न बाध्य पार्नेलाई पनि सजाय दिने कानून निर्माण गरि चालु बर्षदेखी सजाय दिलाउन सुरु गरिएको हो । कानून अभावमा आत्महत्या गर्न बाध्य बनाउनेहरुले सहज उन्मुक्ति पाउँदै आएका थिए ।

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्