पथरीको सामुदायिक वनभित्र भेटियो सडेको अवस्थामा शव


 


मोरङ, बैशाख ३०

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ४५ वर्षीय कमलबहादुर धिमालको शव सडेको अवस्थामा आज बिहान फेला परेको छ ।
पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर उत्तरमा रहेको पशुपति सामुदायिक वन भित्र शव फेला परेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

गत बिहीबार साँझ परिवारका सदस्यसँगै खाना खाएर सुत्न जान्छु भन्दै कोठामा छिरेका धिमाललाई भोलीपल्ट विहान घरमा नभेटिएको जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएका थिए ।

वनमा च्याउ टिप्न गएकाहरुले धिमालको शव घाँटीमा डोरी बाँधिएको र सडेर दुर्गन्धित भएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीका अनुसार शव पोष्टमार्टमका लागि मंगलबारे अस्पताल उर्लाबारीमा राखेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्