श्रीलंकामा सामाजिक सञ्जाल बन्द


 


एजेन्सी । श्रीलंका सरकारले सामाजिक सद्भाव खल्बलिने भन्दै फेरि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ । अल्पसंख्यक मुस्लिम धर्मालम्बीका मस्जिद र उनीहरूका सम्पत्तिमाथि आक्रमण हुन थालेपछि सरकारले सोमबारदेखि फेसबुक ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो ।

आइतबार क्रिश्चियनबहुल जनसंख्या भएको चिलाव सहरमा मस्जिदमाथि ढुंगामुढा र एक मुस्लिम धर्मालम्बीलाई कुटपिट भएपछि थप हिंसा भड्किन नदिन सरकार सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो ।

वैशाख ८ गते सयौंको ज्यान जाने गरी क्रिश्चियन धर्मालम्बीका चर्च र पाँच तारे होटलमा भएको हमलापछि पनि श्रीलंकाले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । अन्तर्राष्ट्रिय आतंकवादी समूह आइएसले जिम्मा लिएको सो घटनाबारे अहिले पनि त्रास कायम छ ।

यही विषयमा भएको विवादमा फेसबुकमा व्यक्त विचारले हिंसालाई प्रोत्साहन गरेको सरकारको बुझाइ छ । फेसबुकमा सामाजिक सद्भाव भड्किने गरी पोस्ट गर्ने केहीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्