नेपाल र भियतनामबीच द्विपक्षीय सम्झौता : १६ बुँदे सहमति पत्रमा हस्ताक्षर


 


काठमाडौँ, २९ बैशाख । नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्‍याउन सहमत भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार भियतनामको प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो । प्रधानमन्त्री ओलीले शनिबार भियतनामका समकक्षी ग्युगन सुआन फुकसँग भेटवार्ता गरेका थिए । भेटवार्तापछि नेपाल र भियतनामका अधिकारीबीच १६ बुँदे सहमति भएको छ ।

व्यापार तथा लागानी संरचनासम्बन्धी सम्झौतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र भियतनामका तर्फबाट त्यहाँको उद्योग मन्त्रालयका उपमन्त्री दाङ आओङ एनले हस्ताक्षर गर्नुभयो । कूटनीतिक प्रवेशआज्ञा छुट तथा सरकारी राहदानीमा रहेका अवरोध हटाउने र दुई देशबीचमा सम्बन्धका विषयमा विचारविमर्श गर्न द्वीपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा सम्झौता भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट नग्येन क्वयकले हस्ताक्षर गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्स र भियतनाम चेम्बर अफ कमर्सबीच सन् २०१८ मा भएको सम्झौतालाई नवीकरण गर्ने, पर्यटकलाई दुवै देशको भ्रमणका लागि प्रेरित गर्ने, दुवै देशका पार्टी, सरकार, संसदीय संस्था र नागरिकलाई एकअर्का देशमा मैत्रीपूर्ण भ्रमण गराउने सहमति पनि भएको छ ।

विदेशमन्त्री स्तरीय दुई पक्षीय परामर्श संयन्त्र निर्माण गर्ने, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरुमा समान धारणा बनाउने, भियतनामको आन्तरिक सुरक्षा मन्त्रालय र नेपालको गृहमन्त्रालयबीच फौजदारी कानुनको कार्यान्वयन तथा अपराधविरुद्ध सहकार्य गर्नका लागि सम्झौता गर्ने र त्यसका लागि छलफल सुरु गर्ने सहमति पनि भएको छ ।

भेटवार्तामा भियतनामका प्रधानमन्त्री ग्युगन सुआन फुकले सन् २०२० र २०२१ सम्म संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्य बन्ने लक्ष्य राखेको भन्दै त्यसका नेपालको सहयोगको अपेक्षा गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भने सहयोगको वचन दिँदै उचित समयमा नेपाल भ्रमण गर्न निम्तो दिनुभयो ।

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्