मलेसिया मेडिकल प्रकरण : भ्रामक प्रचार प्रसार भएको मन्त्रालयको स्पष्टोक्ति (विज्ञप्तिसहित)


 


काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरु सूचीरकरण सम्बन्धमा भ्रामक प्रचार फैलिएको प्रति आपत्ती जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मलेसियासँग श्रम समझ्दारी हुन अगावै छनोट भएका स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य जाँच हुन सक्ने र नयाँ स्वास्थ्य संस्थाको सूचीकरण हुन नसक्ने भन्दै केही संचारमाध्यममा आएका समाचार गलत भएको स्पष्ट गरे ।

उनले स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरु सूचीरकरण गर्ने प्रकृया जारी रहेको बताउँदै यस्ता भ्रामक प्रचार प्रसारमा विश्वास नगर्न सबैमा आग्रह गरे । उनले मलेसियासँग भएको श्रम समझदारी अनुरुप नै मापदण्ड पुगेका स्वास्थ्य संस्थाहरु मन्त्रालयले छनोट गर्ने दावी गरे । प्रवक्ता डा. रेग्मीले वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र व्यवस्थित तुल्याउने सन्दर्भमा विभिन्न मुलुकहरुमा भएका द्विपक्षीय श्रम समझदारीको पूर्ण पालनामा मन्त्रालय पूर्णत कटिबद्ध रहेको उल्लेख गरे ।

यसअघि नेपालस्थित मलेसियाली दूतावासले मलेसियाको वायो मेडिकल सिष्टममा रजिष्टर्ड रहेका पुरानै ३७ वटा मेडिकल संस्थाहरुलाई मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न योग्य रहेको चिठी सार्वजनिक भएको थियो ।

तर मध्यान्ह दैनिकले शुक्रबारको आफ्नो अंकमा दूतावासले नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष समेत रहेका मेडिकल व्यवसायी कैलाश खड्कालाई सम्बोधन गर्दै एक महिना अघि गत अप्रिल ८ मा नै उक्तपत्र पठाएको उल्लेख गर्दै नेपाली कामदार मलेसिया जाने भएपछि त्यसलाई नरुचाएका केही व्यक्तिहरु अहिले वातावरण विगार्न सकिन्छ की भनेर असफल प्रयासमा लागेको समाचार प्रकाशित गरेको थियो ।

मध्यान्हले आफ्नो समाचारमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न आवश्यक पर्ने नयाँ मेसिन र उपकरण खरीद गर्न कम्तीमा ३ देखि ६ महिनालाग्ने भन्दै समय लम्बाउन माग गर्नेदेखि नक्कली मेडिकल रिपोर्ट बनाउन उद्यत केही व्यवसायीहरुले उक्त पुरानो पत्र सार्वजनिक गर्दै वैदेशिक रोजगारको सुधारमा लागेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट पनि पुरानै संस्थाहरुलाई मात्र मान्यता दिन तयार भएको भन्ने प्रचार गराइएको समेत लेखेको थियो । प्रवक्ता डा. रेग्मीको विज्ञप्तिले मध्यान्हको समाचारलाई पुष्टि गरेको छ ।

प्रकाशित मिति: २८ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्