चेन्नाई आईपीएलको फाइनलमा, दिल्ली ६ विकेटले हार्यो
काठमाडौं । इण्डियन पि्रमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै चेन्नाई सुपरकिंग्स फाइनलमा प्रवेश गरेको छ । अब आइतबार चेन्नाई र मुम्बई इण्डियन्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ ।
गएराति विशाखापट्नममा टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । जवाफमा चेन्नाईले १९ ओभरको अन्तिम बलमा ४ विकेटको क्षतिमा १५१ रन बनाएर जित हासिल गर्यो ।
चेन्नाईको जितमा सबैभन्दा धेरै फाफ डुप्लेसिस र शेन वाटसनले समान ५०-५० रन बनाए । डुप्लेसिस प्लेअर अफ द म्याच बने । उनले ७ चौका र एक छक्काको मद्दतमा अर्धशतक बनाए । ट्रेन्ट बोल्टको बलमा किमो पलले डिप स्क्वायर लेगमा उनलाई क्याचआउट गरे । शेन वाटसनलाई अमित मिश्राले शिकार बनाए । उनलाई बोल्टले बाउन्ड्री नजिक क्याच गरे ।
सुरेश रैना १६ औं ओभरको अन्तिम बलमा ११ रन बनाएर आउट भए । उनलाई अक्षर पटेलले बोल्ड गरे । उनी आउट हुँदा चेन्नाइको स्कोर १२७ थियो । चेन्नाईलाई जित्नको लागि केबल २ रन चाहिएको बेला महेन्द्र सिंह धोनीको चौथो विकेट गुम्यो । इशान्त शर्माको बलमा किमो पलले धोनीको क्याच पकडेका थिए । धोनी ९ बलमा ९ रन बनाएर आउट भए । अम्बाती राएडु २० रनमा नटआउट रहे ।
त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीका लागि ऋषभ पन्तले सबैभन्दा धेरै ३८ रन बनाए । शिखर धवनले १८, कोलिन मुनरोले २७ र श्रेयस अय्यरले १३ रन बनाए । इशान्त शर्माले नटआउट १० रन बनाए । अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।
चेन्नाइका लागि दीपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र ड्वेन ब्राभोले २-२ विकेट लिए । इमरान ताहिरले एक विकेट लिए ।
चेन्नाई र मुम्बई दुवै टिम चौथो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि यी दुवै टिम सन् २०१०, २०१३ र २०१५ मा पनि उपाधिका लागि भिडेका थिए । मुम्बई २०१३ र २०१५ मा चेन्नाईलाई हराएर आईपीएल च्याम्पियन बनेको थियो ।
प्रकाशित मिति: २८ बैशाख २०७६, शनिबार