चुनाव प्रचारकाे एउटै गाडीमा दुई गौतम गम्भीर, ‘डुप्लिकेट’ उम्मेद्वारलाई माला


 


नयाँ दिल्ली लोकसभा निर्वाचनमा पूर्वी दिल्लीबाट भाजपा उम्मेद्वार बनेसँगै पूर्वक्रिकेटर गौतम गम्भीर निरन्तर चर्चामा छन् । शुक्रबार उनी अनौठो कामबाट चर्चामा आए ।

सधैं झैं शुक्रबार पनि उनी चुनावी प्रचारमा व्यस्त थिए । उनको गाडी पूर्वी दिल्लीको आफ्नो निर्वाचन क्षेत्रमा उनको गाडी गुडिरहेको छ । उम्मेद्वार गाडीमा बसेर समर्थकले लगाइदिएको माला पहिरिरहेका छन् र हात हल्लाइरहेका छन् । तर, वास्तवमा गाडीको बाहिर रहेका ती व्यक्ति वास्तविक उम्मेद्वार नभएर गम्भीरजस्तै देखिने व्यक्ति हुन् । उनलाई झट्ट हेर्दा गम्भीरजस्तै देखिन्छ, जो प्रचार कार्यक्रममा गम्भीरको भूमिका गरिरहेका छन् ।

यतिबेला उम्मेदवार गम्भीर भने एयर कन्डिसनयुक्त गाडीभित्र बसिरहेका छन् । गाडीभित्र बसिरहेका गम्भीर र बाहिर माला पहिरिएका ‘डुप्लिकेट’ गम्भीर एकसाथ देखिने तस्बिर सार्वजनिक भएपछि वास्तविकता बाहिरिएको हो । कतिपयले दिल्लीकाे चर्काे गर्मीका कारण गम्भीरले याे उपाय लगाएकाे टिप्पणि गरेका छन्र । यो घटनालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरु गम्भीरलाई व्यंग्य गरिरहेका छन् ।

दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडिया ट्वीटरमा लेख्छन्, ‘सिनेमामा दोहोरो भूमिकाको कुरा सुनेको थिएँ, क्रिकेटमा पनि तर पहिलो पटक चुनावी अभियानमा ‘डुप्लिकेट’ देखिरहेको छु ।’ सिसोडियाले ती ‘डुप्लिकेट’ व्यक्ति काँग्रेस कार्यकर्ता भएको भन्दै आम आद्मी विरुद्ध काँग्रेस र भाजपा मिलेको पुष्टि भएको आरोप समेत लगाएका छन् ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्