पुरुषको तुलनामा महिलालाई १२ गुणासम्म बढी सताउने रोग लुपस


 


बुनु थारु बनेपाकी १९ वर्षीया सीता (नाम परिवर्तन) प्लस टु पढ्दैछिन्। उनलाई विगत १ वर्षदेखि जोर्नी दुख्ने समस्या भइरहन्थ्यो। औषधि खाँदा सञ्चो भएजस्तो हुन्थ्यो। केही समयपछि छालामा रातो बिबिरा आउने र घाम पर्दा एकदम पोल्ने समस्या थपियो। सुरुमा एलर्जी होला भनेर खासै चासो पनि दिइनन्।

तर, एक्कासि उनको अनुहारमा पुतली आकारको रातो दाग देखिन थाल्यो। सुन्दर बनेर हिँड्नुपर्ने उमेरमा अनुहारमा नै दाग आएपछि उनी तनावमा परिन्। अनुहारमा मेकअप लगाएर आकर्षक देखिनुपर्ने सीतालाई उक्त दाग भिलेन लाग्न थाल्यो। सोही दागका कारण उनी कतिदिन त कलेज नै जान सकिनन्। गए पनि मास्क लाएर जानुपर्ने परिस्थिति बन्यो। अनुहारको सौन्दर्य बिग्रिएको चिन्ताले सताएकै बेला बारम्बर ज्वरो आइराख्ने र पेट दुख्ने समस्यासमेत थपियो।

त्यसपछि उनी उपचारका लागि वीर अस्पताल पुगिन्। अस्पतालमा उनले बाथ रोग विशेषज्ञ डा अञ्जल बिष्टलाई देखाइन्। डा बिष्टले आवश्यक परीक्षणपछि उनको समस्या पहिचान गर्दै भने, ‘हजुरलाई लागेको रोगको नाम हो, लुपस।’

सीताले आश्चार्य मान्दै प्रतिप्रश्न गरिहालिन्, ‘यो कस्तो रोग हो, मैले त कहिले पनि नाम सुनेको थिइनँ, के यो रोग खतरनाक हो ?’

त्यसपछि डा बिष्टले उनलाई सम्झाउँदै भने, ‘यो एक प्रकारको बाथ रोग हो। यो रोगले शरीर भित्रका जुनसुकै अंगलाई पनि असर गर्नसक्छ। समयमा नै पहिचान भएर उपचार गरेमा शरीरका अंगलाई जोगाउन सकिन्छ। साथै रोगलाई नियन्त्रणमा राख्न सकिन्छ।’

डा बिष्टले यो रोगको विषयमा विस्तृत जानकारी गराउनुअघि सीताको रगत तथा पिसाब जाँचको रिपोर्टका साथै छातीको एक्सरे, मुटुकोे इको तथा मिर्गौलाको अवस्थाको रिपोर्टसमेत हेरिसकेका थिए।

‘उपचारका लागि आएकी सीताको उमेर, जोर्नी दुखाइ र छालामा आएको दागको लक्षण देखिएपछि लुपसको शंका गरिएको थियो,’ डा बिष्टले भने, ‘त्यसपछि हामीले उनलाई आवश्यक परीक्षण गर्न भन्यौँ र रिपोर्ट हेर्दा लुपस नै देखियो।’ सीताको जाँचका क्रममा उनमा हेमोग्लोबिन कम हुनुका साथै फोक्सोमा हल्का पानी जमेको पाइएको थियो।

उपचारपछि उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ। उनी अहिले निरन्तर फलोअपमा रहेकी छिन्। औषधि नियमित सेवन गर्दैछिन्। उनको छालाको समस्या हराइसकेको छ भने जोर्नीको दुखाइ पनि कम भएको छ। सीता फेरि आफ्नो दैनिक जीवनमा फर्किसकेकी डा बिष्ट बताउँछन्।

लुपस रोगका विषयमा कहिले पनि नसुनेकी २७ वर्षीया बीना श्रेष्ठ (नाम परिवर्तन) ले त रोगका कारण जागिर नै छाड्नु परेको थियो। एक गैरसरकारी संस्थामा कार्यरत बीनालाई सुरुमा कपाल धेरै नै झर्ने समस्या देखिएको थियो। त्यसपछि घाम ताप्दा अत्यधिक पोल्ने समस्या देखिन थाल्यो। विस्तारै उनको छालामा दाग देखिनुका साथै जोर्नी दुख्ने, भित्री ज्वरो आउने, कमजोर महसुस हुने समस्या थपिँदै गयो। एकपछि अर्को समस्याले च्याप्दै गएपछि उनी धेरै दिन कार्यालय बिदा बस्नु परेको थियो। कार्यालयमा धेरै बिदा लिन थालेपछि उनको जागिर नै गयो।

सुरुमा उनी सामान्य मेडिकलमा उपचारका लागि पुगेकी थिइन्। रोगको पहिचान भएको पनि थिएन। तर, समस्या बढ्दै जाँदा र परीक्षण थपिँदै जाँदा उनलाई लुपस लागेको पहिचान भयो। त्यसपछि उनी थप उपचारका लागि बाथरोग विशेषज्ञकहाँ पुगिन्।

उनका अनुसार लुपस पहिचान भएर आवश्यक परीक्षण गर्दा मिर्गौलामा प्रोटिन लिक भएको रहेछ। ‘सुरुमा त निकै डराएको थिएँ। मिर्गौलाबाट प्रोटिन गएका कारण गर्भ खेर जान्छ भनेर धेरै आत्तिएको थिएँ’ उनले भनिन्, ‘यो त बाथ रोगमध्येकै एक प्रकार रहेछ। धन्न समयमा नै पहिचान गरेर रोगलाई नियन्त्रणमा राख्न सफल भइएको छ।’ उनी ७ महिनादेखि नियमित औषधि सेवन गरिरहेकी छिन्।

लुपसका कारण फोक्सो तथा मुटुमा पानी जम्ने समस्या पनि देखिन्छ। त्यस्तै समस्या भोग्नेमध्येकी हुन् २८ वर्षीया सरु शर्मा। उनी पनि सुरुमा छालामा समस्या देखिएको भन्दै छालाको डाक्टरकहाँ पुगेकी थिइन्। रोगको सुरुवाती चरणमा उनको छालामा एलर्जी देखिएको थियो।

एलर्जीको उपचारका लागि उनी धेरै अस्पताल र डाक्टरकहाँ पुगेकी थिइन्। तर, समस्या समाधान भएको थिएन। अन्तमा वीर अस्पतालमा बाथ रोग विशेषज्ञले आवश्यक परीक्षण गर्दा उनमा लुपस फेला परेको थियो। लुपसकै कारण उनको फोक्सो र मुटुमा पानी जमेको थियो। यतिमात्र होइन, लुपसले उनको मिर्गौलालाई समेत असर गरिसकेको थियो। डा बिष्टका अनुसार उनी अहिले नियमित उपचारमा छिन्। उनको रोग नियन्त्रणमा आएको छ।

के हो लुपस ?
डा श्वेता नकर्मीका अनुसार लुपस एकदमै डरलाग्दो रोग हो। यो एक प्रकारको बाथ रोग हो। यो रोग लागेमा भित्री जुनसुकै अंगलाई समात्न सक्छ। डा नकर्मीका अनुसार यसको सही पहिचान गर्ने र समयमा उपचार गरेमा शरीरका विभिन्न अंगलाई बचाउन सकिन्छ। यो थाइरोइड र मधुमेह जस्तो निको पार्न सकिँदैन, मात्र नियन्त्रण गर्न सकिन्छ।

नेसनल इन्स्टिच्युट अफ अर्थराइटिस एन्ड मस्कुलोस्केलेटल एन्ड स्किन डिजिज (एनआइएएमएस) का अनुसार सामान्य रूपमा मानिसको रोगप्रतिरोधी क्षमताले संक्रमणबाट जोगाउँछ, तर लुपसले चाहिँ शरीरका स्वस्थ कोशिका र तन्तुहरूमै असर गर्छ ।

यो एक क्रोनिक अटोइम्युन डिजिज हो। हामी सबैको शरीरमा रोग वा जिवाणुसँग लड्ने क्षमता हुन्छ। यो रोग लागेपछि मानसको रोगसँग लड्ने क्षमतामा गडबडी आउँछ। विशेष कोषिकाहरुले आफ्नै शरीरका कोषिकाहरुलाई नष्ट गर्न थाल्छ। रोगसँग लड्नसक्ने क्षमताले जब आफ्नै शरीरका कोषिकाविरुद्ध काम गर्न थाल्छ, त्यसपछि लुपस देखापर्छ। यसपछि शरीरका अंगहरुलाई बिगार गर्न थाल्छ। आँखा, छाला, मिर्गौला, फोक्सो, मष्तिष्क आदिमा यसले असर गर्नसक्छ।

लुपसको लक्षण ६ हप्तादेखि धेरै वर्षसम्म पनि देखिँदै जाने लुपस फाउन्डेसन अफ अमेरिकाले बताउँछ। इम्युन सिस्टमले ‘एन्टिबडिज’ नामक प्रोटिन उत्पादन गर्छ, जसले भाइरस, ब्याक्टेरियाको जोखिमबाट बचाउँछ। तर यो रोग लागेपछि ‘अटोएन्टिबडिज’ उत्पादन हुन्छ जसले स्वस्थ कोषिकालाई नष्ट गरिदिन्छ।

महिलामा १२ गुणासम्म बढी
लुपस रोग महिलालाई पुरुषको तुलनामा ९ देखि १२ गुणासम्म बढी लाग्ने वीर अस्पतालका बाथरोग विशेषज्ञ डा अञ्जल बिष्ट बताउँछन्। उनी भन्छन्, ‘यो दीर्घकालीन रोग हो। यसको पूरै उपचार सम्भव नभए पनि नियन्त्रण गर्न सकिन्छ। यो विशेषगरी युवावस्थामा लाग्ने गर्छ र महिलामा बढी पाइन्छ।’

लुपसको उपचार लक्षण सुरु भएको ३ महिनादेखि १ वर्षभित्र गरिएमा यसबाट हुने नकारात्मक असरलाई नियन्त्रण गर्न सकिन्छ। विश्वमा प्रत्येक १ लाख व्यक्तिमा २० जनालाई यो रोग लागेको छ। विशेषतः १५ देखि ४५ वर्ष उमेर समूहका महिनावारी भइरहने महिलामा यो रोग लागेको पाइएको छ। यो रोग लागेर प्रजनन् उमेर समूहका महिलामा निःसन्तानको समस्या पनि देखिएको छ। ‘नेपालमा लुपस रोगी कति छन् भनेर तथ्यांक छैन,’ डा बिष्ट भन्छन्, ‘हामीले महिनामा ७÷८ जना नयाँ लुपसका बिरामी पत्ता लगाइरहेका छौँ।’

लुपस रोग कसरी लाग्छ भनेर यकिन कारणहरु अझै पनि पत्ता नलागेको चिकित्सकहरु बताउँछन्। यो रोग पुरुषमा लागे पनि एकदम कडा खालको लक्षण लिएर आउने चिकित्सकहरु बताउँछन्। यो वंशाणुगत रोग हो। एक जना परिवारमा कोहीलाई छ भने अरुलाई पनि ३० गुणाभन्दा बढी लाग्ने सम्भावना रहेको चिकित्सक बताउँछन्। त्यसैगरी हार्मोनको कारणले पुरुषमा भन्दा महिलामा बढी पाइने गरेको छ।

कुन अंगमा बढी असर
डा नकर्मीका अनुसार प्रायः मिर्गौलामा आक्रमण गरेको केस आएको छ। मिर्गौलामा आक्रमण हुँदा प्रोटिन भन्ने तत्व जान्छ, जसले गर्दा हातखुट्टा सुन्निन थाल्छ। यदि मुटुमा आक्रमण भएको छ भने छाती दुख्ने, साँस फेर्न गाह्रो हुनसक्छ। फोक्सोमा असर ग¥यो वा पानी जम्यो भने खोकी लाग्ने, मस्तिष्कमा गाह्रो भयो भने बारम्बार टाउको दुखिराख्ने, आँखा देख्न समस्या हुने, आँखा धमिलो हुने, बेहोस् हुने जस्ता समस्या आउन सक्छन्। समान्यतयाः छाला, जोर्नीको लक्षण हुन्छ, अरु जुन अंगमा प्रभावित पारेको छ त्यसैअनुसार लक्षण देखापर्ने गर्छ।

डा बिष्ट भन्छन्, ‘ठ्याक्कै यकिन कारण र कसरी एकएक अंगलाई प्रभावित बनाउँदै जान्छ भन्ने ठोस कारण छैन। कसैलाई सुरुवाती चरणमै लाग्नसक्छ भने कसैलाई ढिलो विभिन्न अंगमा असर गर्नसक्छ।’

लुपसका यी सबै लक्षण देखापरेमा चिकित्सकहरु बिरामीलाई रगत तथा पिसाब जाँच, छातीको एक्सरे, मुटुकोे इको तथा मिर्गौला जाँच गर्ने सुझाव दिन्छन्। यो रोगले कुन–कुन अंगलाई असर गर्छ भन्ने थाहा हुँदैन, त्यसैले जुन अंगलाई असर गर्छ, त्यहीअनुसार रोगको उपचार गरिन्छ। रोगको उपचार व्यक्तिअनुसार फरकफरक हुनसक्छ।

कसरी सावधानी अपनाउने ?
यो रोग लागेका मानिसले खानेकुरा त्यति बार्न जरुरी छैन, तर केही कुराहरुमा ध्यान चाहिँ दिनुपर्ने हुन्छ। चिल्लो कम खाने, फलफूल, हरियो सागपात, तरकारी, थोरै मात्रामा माछा–मासु खानुपर्छ। त्यसैगरी नुन कम मात्रामा खाने र नियमित व्यायाम गर्नुपर्छ।

यो रोग लागेका बिरामी घामको किरणबाट बँच्नुपर्छ। छाता, सन ब्लक लोसन लगाउने, बाहुला भएको लुगा लगाउने गर्नुपर्छ ताकि छालामा असर नपु¥याओस्। त्यसैगरी यो रोग लागेका व्यक्तिलाई निमोनिया र फ्लु भ्याक्सिन लगाउनुपर्छ।

यो रोग लागेका धेरैजसो गर्भवती महिलामालाई जोखिम हुन्छ। गर्भखेर जाने सम्भावना बढी हुन्छ। त्यसैले गर्भवती हुनुअघि चिकित्सकको सल्लाह लिनुपर्छ। लुपस रोग नियन्त्रणमा आएको ६ महिनापछि मात्र गर्भवती हुने सल्लाह दिइन्छ। गर्भवती अवस्थामा नियमित जाँच गराइराख्नुपर्छ र अन्य औषधि पनि नियमित खाने गर्नुपर्छ।

चिकित्सकहरुका अनुसार यो रोग निको नभए पनि नियन्त्रण गर्न सकिने हुनाले नियमित फलोअपका साथै नछुटाई औषधि सेवन गर्नुपर्छ। लुपस लागेका बिरामीलाई संक्रमणले छिटो भेट्ने हुनाले सजग हुनुपर्छ। लुपस एक दीर्घरोग हो, कुन अंगलाई असर पारेको छ, त्यही अनुसार चिकित्सकले औषधि चलाउँछन्। औषधि नछुटाई खाएमा बिरामी आफ्नो दैनिक क्रियाकलापमा फर्किन सक्छन्।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्