वडाध्यक्षको अधिकारमाथि नगरप्रमुखको हस्तक्षेप


 


सुर्खेत – सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द पुनले वडाअध्यक्षको अधिकारमाथि हस्तक्षेप गरेका छन्। मेयर पुनले वडा नम्बर १२ का वडाध्यक्ष गोविन्द डाँगीको अधिकारमाथि हस्तक्षेप गरेका हुन्।

वडाको काम, कर्तब्य र अधिकार माथि हस्तक्षेप गर्दै वडाध्यक्षको अधिकार कार्यापालिका सदस्य जयप्रकाश विकलाई तोकेका छन्। मेयरले वडाबाट सञ्चालन हुने योजनाको सम्झौता, अनुगमन र भुक्तानीको लागि सिफारिस गर्ने अधिकार मनोनित कार्यपालिका सदस्यलाई दिएका हुन्।

आफु नगरको संरक्षक भएको भन्दै उनले विकास निर्माणका कामलाई तिव्रता दिन जनप्रतिनिधिहरुलाई कामको जिम्मेवारी तोकेको बताए। उनले वडाध्यक्ष डाँगी कार्यालयमा नियमित उपस्थित नभएको कारण कार्यपालिका सदस्यलाई जिम्मेवारी दिएको जिकिर गरे।

तर वडाध्यक्ष डाँगीले भने आफु कार्यालयभन्दा बाहिर जाँदा वडाध्यक्षको कार्यवहाक जिम्मेवारी दिएर मात्रै जाने गरेको बताउँछन्। ‘म कार्यालयभन्दा बाहिर जाँदा कावा तोकेर गएको छुँ। तर मेयरले भनेजस्तो जनतालाई दुःख दिने काम गरेको छैन।’ आफु नियमित कार्यालयमा उपस्थित हुँदासमेत नगरप्रमुखले व्यक्तिगत लाभमा फसेर आफ्नो जिम्मेवारी खोसेको उनले आरोप लगाए।

नगरप्रमुखले स्वार्थ पुरा गर्ने र पार्टीभित्र गुटगत राजनीति जोगाउने उद्देश्यले आफ्नो अधिकारमा हस्तक्षेप गरेको वडाध्यक्ष डाँगीको भनाई छ। नगरप्रमुखले आफ्नो अधिकारमाथि हस्तक्षेप गरेपछि उनीविरुद्ध उच्च अदालत सुर्खेतमा मुद्धा दायर गरेको समेत उनले जानकारी दिए।

स्थानीय सरकार सञ्चालन ऐन २०६४ ले भने वडाबाट सञ्चालन हुने योजनाको सम्झौता, अनुगमन र भुक्तानीको लागि सिफारिस गर्ने सम्पूर्ण अधिकार वडाअध्यक्षलाई हुने उल्लेख गरेको छ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्