प्रचण्डले सीतासँग पुन : विवाह गरे


 


काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता पौडेलबीच विवाह भएको आज ५० वर्ष पुगेको छ।

सोही अवसरमा ललितपुरको खुमलटार निवास नजिकै विशेष समारोह आयोजना गरेर अध्यक्ष प्रचण्डले पत्नि सीता दाहालसँग विवाहको ५० औं वर्षगाँठ मनाएका छन्। वर्षगाँठको अवसरमा उनीहरूले फेरि विवाह गरेका हुन्।

विवाह उत्सवमा नेकपा शीर्ष नेताहरू, आफन्तजन र केही मन्त्रीहरू उपस्थित भएका थिए। कास्की ढिकुरपोखरीका दाहालले छिमेकी गाउँ हेङ्जाकी सीतासँग १५ वर्षको उमेरमा २०२६ सालमा मागी विवाह गरेका थिए। त्यतिबेला सीता पनि १५ वर्षकी नै थिइन्।

दाहाल र पौडेलका परिवार पुख्यौली थलो कास्कीबाट बसाई सरेर चितवन झरे। चितवनमा पनि उनीहरूको घर नजिकै थियो। विवाह भएको ५० वर्ष पुगेको अवसरमा छोरीहरू रेणु र गंगाले खुमलटारस्थित एक पार्टी प्यालेसमा पुन:विवाह गराउने कार्यक्रम आयोजना गरेका हुन्।

दाहाल जोडीका चार सन्तानमध्ये रेणु भरतपुर महानगरकी मेयर छन्। अर्की छोरी गंगा निजी सचिवालयको जिम्मेवारी हेर्छिन्। जेठी छोरी ज्ञानु र छोरा प्रकाशको भने निधन भइसकेको छ।

दाहालले झण्डै १३ वर्ष भूमिगत जीवन बिताउँदा श्रीमतीलाई पनि सँगै लगेका थिए। दश वर्षसम्म चलेको जनयुद्धको नेतृत्व गरेका दाहाल २०६२-०६३ को जनआन्दोलनपछि सुरू भएको शान्ति प्रक्रियापछि खुला राजनीतिमा आएका थिए।

२०६४ सालको संविधानसभा निर्वाचनपछि बनेको सरकारमा दाहाल पहिलो पटक प्रधानमन्त्री बनेका थिए। त्यसको झन्डै नौ वर्षपछि दाहाल दोस्रो पटक प्रधानमन्त्री बनेका थिए।

एमाओवादीलाई नेकपा एमालेसँग एकीकरण गरेपछि बनेको नेकपामा दाहाल अध्यक्ष छन्। पत्नी सीता बिरामी भएपछि उनलाई पछिल्लो समय अमेरिकामा उपचार गराइएको थियो। सीता ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन्।

प्रकाशित मिति: २६ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्