‘बाटो पिच गर’ भन्दा पिठ्युँमा लाठी ! भिडियो सहित


 


काठमाडौं । सडकको धुलो हटाइदिन अनुरोध गर्दै प्रदर्शनमा उत्रने चुच्चेपाटी–जोरपाटी सडक खण्डका स्थानीयबासीले प्रहरीको लाठी भेटेका छन् । बाटो ठूलो र राम्रो बन्ने आशमा झण्डै दश वर्षदेखि स्थानीयबासी र व्यवसायीहरू धुरो र धुवाँ सहेरै बसेका थिए । तर, चार वर्षयता सडक निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीले काममा आलटाल गर्न थालेपछि स्थानीयबासीको धैर्य टुट्यो । र, बुधबारदेखि व्यापार–व्यवसाय ठप्प पारेर आन्दोलनमा उत्रिए ।

बुधबारको प्रदर्शन सामान्य रह्यो । आन्दोलनको नेतृत्व गरेको बौद्ध व्यापार सङ्घले एकाध घन्टा चक्काजाम गरेपछि त्यसदिनको आन्दोलन सकियो । सरकार र ठेकेदार कम्पनीको कानमा बतास नलागेपछि आजित व्यवसायी र स्थानीयबासी बिहीबार बिहानैदेखि प्रदर्शनमा उत्रिए । अघिल्लो दिनको तुलनामा प्रदर्शनकारीको संख्या पनि अधिक थियो ।

ठाउँठाउँमा बत्तीको पोल ढालेर र टायर बालेर आन्दोलन गरिरहेका प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पार्न अनावश्यक बल गरेको व्यवसायी लक्ष्मण तिमिल्सिना बताउँछन् । “हामीले दश वर्षदेखि धूलो खाँदै आएका छौँ । व्यापार चौपट छ, विश्वसम्पदा सूचीमा सूचीकृत ठाउँ हो यो । तर सरकारलाई मतलब छैन । बाध्य भएर सडकमा निस्कनुपरेको हो,” उनको भनाइ छ । उनले सरकारले चक्रपथ बाहिरका सडकखण्डलाई वास्ता नै नगरेको जिकिर गरे ।

प्रहरी र प्रदर्शनकारीबीच बिहीबार दिनभर दोहोरी चल्यो । बौद्ध व्यापार संघको अगुवाइमा बाटोमा पानी छम्कँदा पनि धूलो उड्न कम्ता नभएपछि उनीहरू सडकमा आएका थिए । सडक कालोपत्रेको माग गर्दै प्रर्दशन गरिरहेका थिए ।

तर, प्रहरी एकाएक निर्मम बन्न र घरभित्र पसेर धरपकड गर्ने, अश्रु ग्यास हान्ने र लाठी प्रहार गर्न थालेपछि आन्दोलनकारी आक्रोशित बनेको तिमिल्सिनको दाबी छ । “सरकार यति निर्मम हुन्छ भन्ने सोचेका थिएनौँ । बाटो पिच गर भन्दा बुट लाठीले हिर्काउन पाइन्छ ?,” उनी आक्रोश मिश्रित प्रश्न गर्छन् ।

प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ भने प्रहरीको लाठीबाट ६ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये एकजनाको टाउको फुटेको छ । प्रदर्शनकारीले हानेको इँट्टा लागेर एकजना प्रहरी घाइते भएका छन् । उनको नाकको डाँडीमा चोट लागेको छ ।

टाउको फुटेका सर्वसाधारणलाई प्रहरीले उपचार गर्नुको सट्टा महानगरीय प्रहरी वृत्त बौद्ध लगेको स्थानीयको आरोप छ । “प्रधानमन्त्रीज्यूले केही दिनअघि भन्नुभयो, काठमाडौंका सबै सडक बनिसके, धूलो उड्दैन । मास्क लगाएर हिँड्न पर्दैन । म आग्रह गर्छु– प्रधानमन्त्रीज्यू ! तपाईं आफैं जोरपाटी, बौद्ध आउनूस् अनि देख्नुहुन्छ धुलो,” बौद्धका स्थानीय तथा पर्यटन व्यवसायी पेम्बा लामा प्रधानमन्त्री केपी ओलीलाई आग्रह गर्छन् ।

चुच्चेपाटी–साँखु सडक विस्तारको कथा लामो छ । त्यस भेगका जनताले सास्ती पाउन थालेको एक दशक भइसक्यो । हिउँदयाममा धूलो, वर्षायाममा हिलो त्यसबाटोका उपभोक्ताको नियतिजस्तै छ ।
चुच्चेपाटी– साँखु सडकखण्ड विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले ०७२ असोजमा युनाइटेड बिल्डर्स–बज्रगुरु–बिरुवा जेभीलाई ठेक्का दिएको थियो । सडक विस्तार आयोजना शुरू भएपछि स्थानीयबासी आशावादी थिए । धुवाँधुलोको मार पनि खप्दै आएका थिए । तर, ४ वर्ष बित्दा पनि बाटोले कालोपत्रको मुख देख्न नपाएपछि स्थानीय आक्रोशित भएका हुन् ।

बौद्धदेखि जोरपाटीसम्मको २ किमि सडक युनाइटेड बिल्डर्स कम्पनीले पाए पनि साइड क्लियर नगरेको भन्दै २ वर्षदेखि कम्पनीले काम गरेको छैन । बाटो नबनेको भन्दै सरकारको तीव्र आलोचना भएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पटक–पटक अनुगमन गर्दै क्लियर भएको साइड पिच गर्न निर्देशन दिएका थिए । पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै निर्देशनमा टेकेर प्रधानमन्त्री कार्यालयले समेत यथाशक्य चाँडो पिच गर्न निर्देशन दिएको थियो ।

त्यसबाहेक त्यसक्षेत्रबाट निर्वाचित जनप्रतिनिधि, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसमेतले अनुगमन गरी ठेकेदारलाई ध्यानाकर्षण गरेका थिए । तर पनि बाटो पिच नभएपछि सडकमा टायर बाल्नुपरेको बौद्ध व्यापार संघका सचिव सहदेव चौलागाईं बताउँछन् ।

“सरकार, मन्त्री, जनप्रतिनिधिसमेतको निर्देशन बेवास्ता गर्ने ठेकेदार कम्पनीलाई अविलम्ब कारबाही होस् भनेर सडकमा निस्किएका हौँ । सरकारले ठेकेदारलाई सट्टा हामीलाई नै कारबाही गर्यो,” उनी भन्छन् ।
उनका अनुसार चार वर्षको अन्तरालमा बाटोमा पानी छर्कनमात्रै ८० लाख रुपैयाँ सकिइसक्यो । धुलोले व्यवसाय आक्रान्त छ । बौद्धनाथ घुम्न आएका विदेशी आगन्तुक नाकमुख थुनेर हिँड्छन् । विश्व सम्पदा क्षेत्र परिसर निर्माण सामग्रीको उरुङ लगाइएको छ । धुलोले स्तुपा कुरूप भइसक्यो । “भ्रमण वर्ष २०२० को तयारी गरिरहँदा विश्वमा कस्तो सन्देश गइरहेको छ भनेर सरकारलाई ख्याल छैन,” उनले भने ।

चुच्चेपाटी–साँखु सडक विस्तार छिचोल्न आयोजनालाई पहाड पल्टाउनभन्दा गाह्रो भइरहेको छ । बाटोको दायाँबायाँ बराबर भत्काउन र मुआब्जाको माग राख्दै स्थानीयले सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् । र, अदालतले अन्तरिमसमेत जारी गरेको छ ।

बौद्ध, अरब बैंक क्षेत्रका २५ घरधनीले मुआब्जा दिएरमात्र घर भत्काउन भन्दै तीन वर्षअघि सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । त्यसको फैसला नहुँदासम्म बाटो विस्तारमा कठिनाइ भएको सर्वोच्चमा मुद्दा दर्ता गर्ने स्थानीय नवराज लामा बताउँछन् ।

“त्यतिबेला बाटोको दायाँबायाँ नै चिह्नो लगाएर भत्काउने तयारी भएको थियो तर बीचमै चलखेल भएर बाटोको दक्षिणपट्टिमात्रै भत्काउन थाल्यो, त्यो पनि क्षतिपूर्ति नदिई, हामीले बाध्य भएर रिट हाल्नुपर्यो,” लामाको भनाइ छ ।

प्रकाशित मिति: २६ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्