“सबै हाँस्य कलाकार सिंहदरबारमा छन्”


 


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजबाट जागरण अभियान सुरु गरेको छ । नेता बालकृष्ण खाँणले जनता र कांग्रेसलाई जोड्न जागरण अभियान सुरु गरिएको बताएका छन् । राष्ट्रिय सभागृहमा आयोजित शुभारम्भ कार्यक्रममा उनले जागरण अभियानले कांग्रेसमा नयाँ रक्तसञ्चार गर्ने विश्वास व्यक्त गरे ।

नेता खाँणले देश हाँस्य कलाकारले चलाइरहेको भन्दै सरकारको आलोचना गरे । उनले सबै हाँस्य कलाकार सिंहदरबारमा रहेको टिप्पणीसमेत गरे । ‘हाँस्य कलाकारले देश चलाइरहेको छ । सबै हाँस्य कलाकार सिंहदरबारमा छन्,’ उनले भने, ‘देशलाई सही बाटोमा लान कांग्रेसको नेतृत्व खाँचो छ ।’

उनले मंगलबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंसदीय भाषा प्रयोग गरेर नयाँ इतिहास रचेको टिप्पणी गरे । नेता खाँणले ओलीले काठमान्डुलाई मास्कमान्डु बनाएको आरोप पनि लगाए । “मदन भण्डारीका हितैसी मित्र सरकार र राष्ट्रपति भएको बेला हत्यारा कहिले पक्राउ पर्छ भनेर सोध्न नपाइने ? ओलीलाई फलानो मन्त्रीले भ्रष्ट्राचार गरेन भनेर न्यायिक फैसला गर्ने अधिकार कसले दियो भनेर प्रश्न गर्न नपाउने ?” उनले प्रश्न गरे ।

प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्