संसदमा किन भयो चर्काचर्की ? के भनेका थिए प्रधानमन्त्री ओलीले (भिडियोसहित)


 


काठमाण्डौ । मंगलबार पनि संसदमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांदसहरुबीच चर्का चर्की भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेको प्रश्नलाई आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्ति भनेपछि कांग्रेस सांसदहरुले कुर्सीबाट उठेर होहल्ला गरे ।

आर्थिक वर्ष २०७६–७७ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रोष्टममा पुग्नुभएका प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिलाई लिएर कांग्रेस सांसदहरुले विरोध जनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेको प्रश्नलाई आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्ति भनेपछि कांग्रेस सांसदहरुले कुर्सीबाट उठेर होहल्ला गरेका हुन् । प्रधानमन्त्रीले त्यस्ता प्रश्नहरुलाई वेवास्ता गर्दै जवाफ दिन्छु भन्नुभएको थियो ।

लगत्तै प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले उठेर संसद अवरोध गरे । जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भन्दै सम्बोधन सुरु गर्नुभएको थियो । लगत्तै कांग्रेस सांसद मीन विश्वकर्माले नियमापत्ति जनाउनुभयो ।

त्यसपछि सभामुख कृष्ण बहादुर महाराले ध्यानाकर्षण भएको बताउनुभयो । तर, रोष्टममा उभिएका प्रधानमन्त्री ओलीले ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भन्ने जवाफ दिनुभयो । त्यसपछि कांग्रेस सांसदहरु थप आक्रोषित भए ।

होहल्ला भएपछि आफूले बोलेको कुरा रेकर्ड खोलेर सुन्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो । कांग्रेस सांसदहरुले विरोध नरोकेपछि प्रधानमन्त्रीले प्रश्नको जवाफ चाहिएको छ कि छैन भन्ने प्रश्न गर्नुभयो । प्रधानमन्त्री र विपक्षी सांसदहरुबचि चर्काचर्की भइरहँदा सभामुख महारले खास केही गर्न सक्नुभएन । त्यसपछि कांग्रेस सांसदहरुको नाराबाजीकै बीच प्रधानमन्त्री ओलीले प्रश्नको जवाफ दिनुभयो । तर होहल्ला जारी रहेपछि प्रधानमन्त्रीले केहीबेरमै जवाफ सकेर रोष्ट्रमबाट बाहिरिनुभयो ।

त्यसपछि कांग्रेसका तर्फबाट नीति तथा कार्यक्रममा हालिएको संशोधन फिर्ता लिन सभामुख महराले कांग्रेस सांसद डा। मिनेन्द्र रिजाललाई समय दिनुभयो । रिजालले प्रधानमन्त्रीको शैलीप्रति कडा आपत्ति प्रकट गर्दै संशोधन प्रस्ताव फिर्ता नलिने जानकारी गराउनुभयो । तर उक्त संशोधन बहुमतले अस्वीकृत भयो ।

 

प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्