उर्लाबारीमा क्रसर उद्योगको “दादागिरी” कहिलेसम्म ?


 


उर्लाबारी, बैशाख २४

मोरङको उर्लाबारी–१ मा सञ्चालन भएका क्रसर उद्योग हटाउन अभियान चलाएका स्थानीयवासीहरु ४० दिन देखि निरन्तर रिले अनसन बसिरहेका छन् ।

उनीहरुले मानव बस्तीका छेउमा सञ्चालन गरिएको मापदण्ड विपरीतका क्रसर हटाउन माग गरिरहेका छन् । आन्दोलन विफल बनाउन क्रसर उद्योगका सञ्चालकहरुले भाडाको मान्छे प्रयोग गरेर स्थानीयलाई आंतकित पारेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार १ सय ५० भन्दा बढी भाडाका युवाहरु लिएर क्रसर सञ्चालकले स्थानीयबासीलाई त्रास सिर्जना गर्दै क्रसर उद्योग सञ्चालन गरेपछि स्थानीयबासीहरु हामी मर्छौं तर क्रसर चलाउन दिँदैनौं भन्दै आन्दोलनमा उत्रिएका थिए । स्थानीय चन्द्रप्रसाद दाहालले स्थानीयलाई त्रास सिर्जना गरेर मापपदण्ड विपरीत क्रसर सञ्चालन गर्ने सपना नदेख्न चेतावनी दिएका छन् । ‘क्रसर उद्योगले एक हिसाबले दादागिरी नै गरिरहेका छन् ’ उनले भने– ‘यस क्षेत्रमा सिंगो बस्ती र विद्यालयसमेत जोखिममा छन् ।’ उनले जनप्रतिनिधिहरुले क्रसर उद्योगका सञ्चालकको मतियार बनेको भन्दै आक्रोेश पोखेका छन् ।

स्थानीय इन्दिरा दाहालले क्रसर उद्योगको आतंकले गाउँमै बस्न सक्ने अवस्था नभएको भन्दै क्रसर उद्योग हटाउन माग गरिन् । क्रसर उद्योगको कारण आजित बनेको भन्दैे स्थानीय ४० दिनदेखि आन्दोलित छन् । उर्लाबारी– १ मा पञ्चेश्वर क्रसर उद्योग र पूर्वेली क्रसर उद्योग सञ्चालनमा छन् । त्यहीं देवीस्थान मिनिरल्स क्रसर उद्योग र सिद्धार्थ क्रसर उद्योग सञ्चालनको अन्तिम तयारीमा छन् ।

स्थानीयका अनुसार जनप्रतिनिधि, समाजका प्रतिष्ठित र गुन्डागर्दीको पृष्ठभूमि रहेकाहरुले मापदण्ड मिचेर लामो समयदेखि क्रसर उद्योग सञ्चालन गरिरहेका छन् । क्रसरका कारण आजित स्थानीयबासीले उर्लाबारी नगरपालिका १ नम्बर वडा कार्यालय, उर्लाबारी नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, प्रदेश सांसद, संघीय सांसद, १ नम्बर प्रदेश सरकार, संघीय सरकारका गृहमन्त्री, प्रधानमन्त्री केपी ओली लगायतलाई ज्ञापन पत्र बुझाएपनि हालसम्म कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ ।

मंगलबार उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना, क्रसर उद्योगका सञ्चालक र स्थानीयबासी बीच छलफल चलेपनि स्थानीयबासीले कुनै पनि हालतमा क्रसर उद्योग सञ्चालन गर्न नदिने बताएपछि निष्कर्ष विहीन बन्यो । मेयर फागोले उच्च अदालत विराटनगरले क्रसर उद्योग बन्द नगर्न आदेश आएको बताएका छन् ।
क्रसरका कारण उड्ने धुलो र त्यहाँबाट निस्किने आवाजले बस्न पनि समस्या भइरहेको स्थानीय जगन्नाथ दाहालले जानकारी दिएका छन् । उनले मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसरले समस्या ल्याउन थालेपछि आन्दोलित बनेको बताएका छन् । त्यहाँ रहेका पाँचवटै क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भइरहेपनि नियमनकारी निकाय भने मौन छन् ।

सार्वजनिक स्थल, खोला र मानव बस्तीभन्दा दुई किलोमिटर नजिक क्रसर सञ्चालन गर्न नपाइने मापदण्ड भए पनि त्यसलाई मिचेर क्रसर सञ्चालन गरिएको छ । राजमार्गबाट ५ सय मिटर, खोला किनारबाट ५ सय मिटर, हाई टेन्सन लाइनबाट १ सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्तीबाट दुई किलोमिटर दूरीमा क्रसर उद्योग रहनुपर्ने सरकारी मापदण्ड छ ।

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्