उपेन्द्र यादवले भने : अहिलेका कम्युनिष्ट होइनन् कमाउनिष्ट हुन्


 


काठमाडौं । उपप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालका कार्यसमिति अध्यक्ष उपेन्द्र यादवले अहिलेका कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी नभएर कमाउनिष्ट भएको बताएका छन् । राजधानीमा सोमबार आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उपेन्द्र यादवले भने, ‘मैले कम्यूनिष्ट आन्दोलन लामो समयसम्म गरेँ, तर अहिलेका कम्युनिष्ट कम्युनिष्ट नभएर कमाउनिष्ट भएका छन् ।’

त्यसैगरी उनले फोरम छुट्यो भनेर खुसी हुनेहरुका रुने दिन आएकोसमेत दाबी गरे । भने, फोरम पनि छुट्यो मधेशको मुद्दा हराउने भयो । दलित जनजातिका मुद्दाहरु हराउने भयो भनेर कतिपयलाई दुःख पनि लाग्या होला । कतिपयलाई केही क्षणको खुसी होला । हिजो हामी छुट्टाछुट्टै लड्थ्यौँ । मधेसी जनजाति खसआर्यहरु अब सबै एउटा शक्ति भएर लड्न सुरु गर्यौँ ।

अब तराई लहानमा आन्दोलन भयो भने गोरखा चुप लागेर बस्दैन । धनकुटामा आन्दोलन हुँदा लहान सुतेर बस्दैन । अब काठमाडौंमा आन्दोलन भए पूरै देश आन्दोलित हुनेछ । अब हिजो खुसी हुनेहरु रुने दिन आयो ।

यादव प्रमुख प्रतिपक्षी दल काँग्रेसमाथि पनि कडा रुपमा प्रस्तुत भए । उनले काँग्रेसको सिद्दान्त नै संवैधानिक राजतन्त्र भएको भन्दै सो पार्टी अहिले त्यसैमा लागेको बताए । उनले देशलाई दरिद्र बनाउने काम काँग्रेसले गरेको आरोप पनि लगाए । अरुबाट दान दक्षिणा लिएर देश समृद्ध नहुने भन्दै उनले देशलाई समृद्ध बनाउन आफै सक्षम हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्