गौतम बुद्ध बन्न सक्छु : प्रचण्ड


 


काठमाणडैँ । – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको लागि आवश्यक पर्यो भने सबै चिज त्यागेर गौतम बुद्ध जस्तै बन्न सक्ने बताएका छन् ।

पण्डित नारायण पोखरेल प्रतिष्ठान महानुष्ठान मूल समारोह समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले मैले अब देशको लागि, जनताको लागि र समृद्विकोे लागि जरुरी पर्यो भने गौतमबुद्धको बाटोमा हिँड्न सक्ने बताएका हुन् ।

‘बाँकी जीवन अब समृद्वि र देशमा शान्ति सुदृढ गर्नको निम्ति तयार छ,’ उनले भने, ‘हिजो मैले जंगल जान्छु भनेको फेरि लडाईं र हिंसाको लागि जान्छु भनेको होइन । भन्न खोजेको के भने देशको लागि र जनताको लागि जरुरी पर्यो भने म सबै कुरा त्यागेर जंगल जान तयार छु ।’

अध्यक्ष प्रचण्डले भने, ‘फेरि पनि त्याग गर्न मलाई केही चाहिएको छैन् । सम्पत्ति चाहिएको छैन् । घरगाडी चाहिएको छैन् । म फेरि पनि दुःख गर्न सक्छु । यो कुरालाई त्यही रुपमा बुझियोस् ।’

हिजो पनि निकै ठूलो त्याग गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘त्याग त त्याग नै हो । त्यागका पनि धेरै खाले रुप हुन्छन् । त्यसैले म आवश्यक परे अब देशको लागि जनताको लागि समृद्विकोे लागि जंगल जान तयार छु ।’ ‘२१ औं शताब्दीमा म एउटा सानो किसानको छोरा हुँ । नेपालमै जन्मिएको । तर मलाई नियतिले भन्नुस् या कर्मले । मैले युद्वको पनि नेतृत्व गर्ने अवसर पाएँ ।

नेपालमा ठूलो राजनीतिमा परिवर्तन ल्याउने । जनताको हितमा जनताको पक्षमा भनेर लड्ने पनि जिम्मेवारी मलाई आयो’, प्रचण्डले भने, ‘लुम्बिनीमा एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा जाँदा मैले के स्मरण गरे भने कि बुद्धको दर्शनलाई–शिक्षाहरुलाई सबैभन्दा राम्रोसँग स्थापित र प्रचार कसले गर्यो भन्दाखेरी अशोक सम्राटले । लुम्बिनीमा अशोकको स्तम्भ छ । सम्राट अशोक । अशोकले लुम्बिनीमा आएर बुद्ध जन्मेको ठाउँ यहीँ हो । धेरैले त्यहीँबाट बुद्धको शिक्षा पाए भनेर अशोकले अशोक स्तम्भ ठड्याएपछि हामीलाई इतिहासको अध्ययन गर्न, बुद्धको बारेमा जानकारी प्राप्त गर्न, शान्तिको महत्व बारे बुझ्न र अहिसांबारे बुझ्न मद्दत गर्यो ।’

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्