मुख्यमन्त्री कार्यालयको मोटरसाइकल तोडफोड, बन्दको चौतर्फी आलोचना


 


विराटनगर, बैशाख २३

प्रदेश १ को राजधानीको विषयलाई लिएर विराटनगरमा आज विहानैबाट सुरु भएको आन्दोलनका क्रममा विराटनगर महानगरपालिका–३ कन्चनबारी चौकमा मुख्य मन्त्री कार्यालयको बा २ ब ३५७४ नम्बरको मोटरसाइकल तोडफोड गरिएको छ ।

कन्चनबारी चौकबाट विराटनगरको रोडशेषस्थित कार्यालयतर्फ आउँदै गरेको मोटरसाइकल आन्दोलनकारीले रोकेर तोडफोड गरिदिएका हुन् । प्रहरीले मोटरसाइकलमा को सवार थिए भन्ने खुलाएको छैन । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले तोडफोडको प्रयास गरिएपछि मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनु भयो । मोटरसाइकल, सिटी सफारी लगायतका सवारी साधनका चालक तथा सर्वसाधारणमाथि पनि हातपात र दुरव्यवहारका घटना हुन थालेका छन् ।

विभिन्न ठाउँमा सवारी साधन तोडफोडको प्रयास गर्दै सबैलाई आतंकित पार्ने कामहरु भएका छन् । हाटखोलास्थित सडकमा टायर बालेरै आन्दोलन गरिएको छ । आन्दोलन गर्ने भन्दै ठाउँठाउँमा झुन्डझुन्ड बनाएर भेला भएको समूहले अराजकता मच्चाउन थाले पनि प्रहरीले कोही कसैलाई नियन्त्रणमा भने लिएको छैन । आन्दोलन अराजक बन्दै गएपछि त्यसका विरुद्ध पनि आवाजहरु उठ्न थालेका छन् । कुनै पनि आन्दोलनको विकल्प बन्द र हड्ताल हुन नसक्ने भन्दै नागरिक अगुवा र सर्वसाधारणले चर्को विरोध गरेका छन् । उनीहरुले अनआवश्यक रुपमा जनतालाई दुःख दिने खालको बन्द र हड्ताल तत्काल फिर्ता गरेर आन्दोलनको स्वरुप परिवर्तन गर्न माग गरेका छन् ।

जनजीवननै कष्टकर हुने गरीको आन्दोलनले सबैलाई सास्ती भएको भन्दै विराटनगरका राजु श्रेष्ठले बन्द र हड्तालको विकल्प खोजेर शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गर्नु भएको छ । आन्दोलनका कारण विराटनगर महानगरपालिका विहानैदेखि ठप्प छ । आन्दोलनका क्रममा विराटनगर महानगरपालिका क्षेत्रमा बजार, उद्योग, शिक्षण संस्था, यातायात बन्द भएका छन् । विराटनगरलाई एकीकृत रुपमा राजधानी बनाउनुपर्ने मागसहित दबाव समिति गठन गरिएको छ । अर्थशास्त्री डा।भेषप्रसाद धमला संयोजक रहेको समितिमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, उद्योगी व्यवसायी, यातायात व्यवसायी, नागरिक समाज, विराटनगर महानगरपालिका, एन प्याब्सन, प्याब्सन लगायतका पदाधिकारी सदस्य रहेका छन् ।

समितिमा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी लगायतका नेताहरु पनि रहेका छन् । संघीय समाजवादी फोरम नेपालका नेता राजकुमार यादवले राजधानी विराटनगर राख्ने र संरचना अन्यत्र लैजाने नेकपा प्रस्तावको विरोधमा आन्दोलन सुरु भएको बताउनु भयो । समस्या समाधानका लागि भन्दै विराटनगरमा अहिले सर्वदलिय र सर्वपक्षिय छलफल जारी रहेको छ ।  प्रदेश १ को स्थायी राजधानी विराटनगरसँगै कार्यपालिका तथा व्यवस्थापिकालगायत अन्य संरचना बृहत् विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैँचा आसपासमा निर्माण गर्ने प्रस्ताव नेकपाले प्रदेश सभामा हिजो दर्ता गरेपछि त्यसको विरोधमा आन्दोलन सुरु भएको हो । राजधानीसँगै कार्यपालिका तथा व्यवस्थापिकालगायत अन्य संरचना विराटनगरमै हुनु पर्ने माग राख्दै अनिश्चितकालिन आन्दोलन सुरु हुँदा जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मिति: २३ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्