विराटनगरलाई राजधानी बनाउने निर्णयविरुद्ध धनकुटाका चार सांसदको ‘नोट अफ डिसेन्ट’


 


धनकुटा । विराटनगर राजधानीको बिपक्षमा रहेका नेकपाका ४ जना धनकुटाका सांसदले संसदीय दलको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

यसरी ‘नोट अफ डिसेन्ट’ लेख्ने सांसदहरुमा निरन राई, ईन्द्रमणी पराजुली, कुसुम श्रेष्ठ र कमला मादेन रहेका छन् । उनीहरु चारैजना धनकुटाका हुन् । आम नागरिकको चाहना अनुसार आफुहरु धनकुटा भन्दा बाहिरको निर्णयमा जान नसकेर नोट आफ डिसेन्ट लेख्नु परेको सांसद ईन्द्रमणी पराजुलीले बताए ।

धनकुटामा सांसदहरुले यसअघि पनि धनकुटालाई प्रदेशको राजधानी बनाउन माग गर्दै आएका थिए । धनकुटालाई राजधानी तोक्नुपर्ने माग राख्दै आएका सांसदहरुले ‘नोट आफ डिसेन्ट’ लेखेका हुन् ।

धनकुटा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम हो । तर, संघीय सरकारले विराटनगरलाई अस्थायी राजधानी तोकेको थियो भने सत्तारुण नेकपाले विराट क्षेत्र बनाई स्थायी राजधानी बनाउने निर्णय गरेका छन् ।

नेकपाको सो निर्णयसँग विराटनगर नै प्रदेश राजधानी बन्ने सम्भावना बढेको छ । त्यसविरुद्ध धनकुटाका ४ जना सांसदहरुले नोट अफ डिसेन्ट लेखेका हुन् । साथै धनकुटाका सबै सांसदहरुले सचिवालयमा संशोधन प्रस्ताव पनि दर्ता गएका छन् ।

प्रकाशित मिति: २३ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्