वामदेव फेरि चुनाव उड्ने तयारीमा


 


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले फेरि चुनाव लड्न गृहकार्य सुरु गरेका छन् । गत वर्षको निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतम उप निर्वाचनमार्फत संसद छिर्ने दाउमा छन् ।

करिब ६ महिनाअघि उनले काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने तयारी गरेका थिए । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरलाई राजिनामा दिन लगाएर उठ्ने उनको तयारी थियो । मानन्धरले त्यसबेला वामदेवका लागि निर्वाचन क्षेत्र छाड्न आफू तयार रहेको बताएका थिए ।

अहिले फेरि राजिनाका लागि आफूलाई दबाब आएको उनले खुलासा गरेका छन् । प्रगतिशील नागरिक मञ्चले आइतबार बालाजु–बाइपास सडक खण्डको निर्माणको क्रममा देखिएको अवरोधबारे गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यसबारे खुलासा गरेका हुन् । मानन्धरले भने ’६ महिना अघि राजीनामा दिन्छु भन्दा जनताको मतको अपमान र्गयो भन्ने। अहिले काम गरेन भनेर राजीनामा माग्ने। म राजीनामा दिन्नँ।’

प्यूठान, डोल्पा लगायत विभिन्न क्षेत्रबाट चुनाव लड्न गौतमले पहल गर्दै आएका छन् । तर, उनी सफल भएका छैनन् । संसद भए एकपटक प्रधानमन्त्री हुन सकिने उनको महत्वाकांक्षा रहेको नेकपा नेताहरु बताउँछन् ।

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्