भ्रष्टाचार कहाँ छ भनेर नसोध्नुस्, कहाँ छैन भनेर सोध्नुस्: अग्नी सापकोटा


 


काठमाडौं , २२ वैशाख – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसद अग्नीप्रसाद सापकोटाले मुलुकको सबै जमिन सरकार मातहत ल्याउनुपर्ने धारणा राखेका छन् । जग्गाको चलखेल गरेर राज्यव्यवस्थालाई नै कमजोर पार्न खोजिएको भन्दै सापकोटाले उच्चस्तरीय शक्तिशाली आयोग बनाएर सबै जमिन सरकार मातहत ल्याउनुपर्ने धारणा राखेका हुन् ।

नीति तथा कार्यक्रमबारे आइतबारको प्रतिनिधिसभाको छलफलमा सापकोटाले भने, ‘राज्यव्यवस्थालाई कमजोर बनाउने षडयन्त्र भइरहेको छ । उच्चस्तरीय शक्तिशाली आयोग बनाएर सबै जमिन सरकार मातहत ल्याइयोस् ।’

उनले संसदले शक्तिशाली आयोग गठन गर्नुपर्ने धारणा रखेका हुन् । आयोगले जग्गालाई राज्यको मातहत ल्याएर नीति बनाएर बाँड्नुपर्ने धारणा रखेका थिए ।

नीति तथा कार्यक्रमको समर्थन गर्दै सापकोटाले कर्मचारी समायोजन, स्थानीय तथा प्रदेश सरकारबीच समन्वयको जटिल अवस्थाबाट आएको सरकारले नयाँ नीति तथा कार्यक्रम सही, वैज्ञानिक र वस्तुवादी ल्याएको बताए । नीति तथा कार्यक्रमको कार्यान्वयन चुनौतीपूर्ण रहेको सापकोटाको धारणा रहेको थियो ।

उनले भने, ‘कार्यान्वयनमा चुनौती रहेको छ । यो नीति तथा कार्यक्रम बजेटद्वारा अभिव्यक्त भएन भने फगत भाषण मात्र हुन्छ। प्रवचन मात्रै हुन्छ ।’ नेता सापकोटाले नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि संरचनागत परिवर्तन हुनुपर्ने धारणा राखेका थिए । त्यसका लागि ठोस कदम चाल्नुपर्ने उनको सुझाव थियो ।

त्यस्तै, ‘सामाजिक सुरक्षा भत्ता बढाउने कुरा र तातोपानी खुलाउने कुरा स्वागतयोग्य, सबै स्थानीय तहका केन्द्रमा कालोपत्रे सडक पुर्‍याउने’ कार्यक्रम राम्रा भएको उनको भनाइ थियो । सार्वजनिक खरिद ऐनमा परिवर्तन तथा सबै स्थानीय तहमा औद्योगिक ग्राम खोल्ने नीति तथा कार्यक्रम सही भएको पनि उनको भनाइ थियो ।

दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने उनको धारणा थियो । उनले भने, ‘पात टिपेर र हाँगा छिमलेर कुनै पनि विष वृक्षको निर्मुल गर्न सकिँदैन । प्रचवन दिएर र कसम खुवाएर भ्रष्टाचार नियन्त्रण गर्न सक्दैनौँ । जनताले दुई तिहाई दिएर गलत गर्नेलाई फलामे हातले पछारुन् भनेर दिएका हुन् ।’

सापकोटाले सबै क्षेत्रमा भ्रष्टाचार बहुआयामिक रूपमा रहेको बताए । उनले भने, ‘बहुआयामिक भ्रष्टाचार छ । कहाँ छ भनेर नसोध्नुस् कहाँ छैन भनेर सोध्नुस् । बालुवाटार, खुलामञ्च, पोखरा, जनकपुर हजारौँ ठाउँमा भ्रष्टाचार छ ।’

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्