क्रसर सञ्चालनपछि पानीको हाहाकार


 


–कृष्ण आचार्य
चितवन । चितवनको कालिका नगरपालिकामा पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालनका लागि संरचना बनाउँदा खानेपानीको मुहान नै सुकेको छ । वडा नं–८ जुटपानी बजार नजिकै रहेको दुई वटा खानेपानीको मुहानमा क्रसर सञ्चालन हुँदा गाउँमा खानेपानीको हाहाकार भएको हो ।

मुहान सुकेपछि बाँसघारी मझुवा बुलबुले खानेपानी उपभोक्ता समूह र मझुवा बुलबुले खानेपानी उपभोक्ता समूहका उपभोक्ता खानेपानीको समस्यामा परेका छन् । मनकामना क्रङ्क्रिट उद्योगले अनुमति नै नलिई सञ्चालन गरेको क्रसर उद्योगले अवैध उत्खनन र डम्पिङ गर्दा पानीको मुहान सुकेको मझुवा बुलबुले खानेपानी उपभोक्ता समूहका अध्यक्ष ज्ञानु कुमालले बताए ।

क्रसर उद्योग सञ्चालन गर्ने क्रममा नै खानेपानीको मुहान सुकेपछि गाउँमा पानीको समस्या भएको कुमालले जानकारी दिए । सञ्चालन हुन लागेको क्रसर उद्योगको छेउमै कालिका नगरपालिका–६ मा रहेको बाँसघारी मझुवा बुलबुले खानेपानी उपभोक्ता समूह र मझुवा बुलबुले खानेपानी उपभोक्ता समूहको मुहान रहेको छ ।

मझुवा बुलबुले खानेपानी अन्तर्गत कालिका नगरपालिका–६ का दुई २३० घरधुरीले सो खानेपानी प्रयोग गर्दै आएका छन् । यस संस्थाअन्तर्गत २४ वटा धारा रहेको छ । सोही खानेपानी स्थानीय आधारभूत विद्यालय गुराउ चौरका विद्यार्थीले समेत प्रयोग गरिरहेका छन् ।

त्यस्तै बाँसघारी मझुवा खानेपानीअन्तर्गत २२२ घरधुरी र पृथ्वी माविका विद्यार्थीले पानी खाइरहेका छन् । कालिका नगरपालिका–८ को जुटपानी बजार नजिकैको सो खानेपानी मुहानबाट विसं २०६० देखि उनीहरुले खानेपानी खाँदै आएका थिए ।

मनकामना क्रङ्क्रिट उद्योग नामको संस्थामार्फत दर्ताबिना क्रसर उद्योग सञ्चालन गर्न लागेको गाउँलेको आरोप छ । करीब १५ कठ्ठा क्षेत्रफलमा फैलिएको सो उद्योगको डम्पिङको बालुवा गिट्टी ढुङ्गा र भवनको जग हेर्दा क्रसर उद्योग नै सञ्चालन गर्न लागेको कालिका नगरपालिका–८ का अध्यक्ष इमप्रसाद अधिकारीले जानकारी दिए ।

‘‘ब्लक उद्योग राख्ने भनेका कारण मैले अनुमति दिएको हुँ’ अधिकारीले भने, ‘आसपासमा रहेका स्थानीयवासीको मञ्जुरी लिएका कारण स्वीकृति दिएको हो ।’ क्रसर राख्ने विषयमा भने आफू अनभिज्ञ रहेको अधिकारीको भनाइ छ । स्थानीयवासीका अनुसार वडाध्यक्षलाई समेत झुक्काएर क्रसर उद्योग सञ्चालकले डम्पिङको काम गरेका थिए । पानीको हाहाकार मच्चिएपछि सो क्षेत्रमा क्रसर उद्योग सञ्चालनका लागि रोक लगाइएको कालिका–६ का अध्यक्ष विनोद रेग्मीले बताए ।

पहिला जनतालाई पानीको व्यवस्था हुनुपर्ने र त्यसपछि मात्र क्रसर उद्योगको संरचनाको काम अगाडि बढ्ने गरी आफूले पहल गरेको अध्यक्ष रेग्मीले बताए । क्रसरका लागि भवनको जग खनेपछि धारामा एक हप्तादेखि पानी नआएको र गाउँलेहरुले दुःख पाएको रेग्मीले बताए । वि.सं २०६१ देखि उपभोग गर्दै आएको पानी अहिले एक्कासि बन्द हुँदा उपभोक्ता मारमा परेको उल्लेख गर्दै रेग्मीले खानेपानीको मुहान नै सुक्नेगरी काम हुनु दुःखको कुरा भएको बताए । रासस

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्