मलेसियामा चार नेपाली चेली पक्राउ
मलेसिया, चैत्र १
यौन व्यवसायमा संलग्न भएको आरोपमा मलेसियामा ४ जना नेपाली महिला पक्राउ परेका छन् । मलेसियन प्रहरीले एक मनोरञ्जन केन्द्र (आउटलेट)मा छापा मारेर ६ बंगलादेशी र ४ जना नेपाली महिलालाई पक्राउ गरेको हो । पेनाङको जलान सुल्तान एहेमदको मनोरञ्जन केन्द्रमा गेष्ट रिलेसन अफिसरका रुपमा काम गरिरहेका ४ नेपाली महिला पक्राउ परेका हुन् ।
देह ब्यापारको आरोपमा पक्राउ परेकाहरु २३ देखि ३० वर्ष उमेर समूहका रहेको मलेसियाको दस्टार अनलाइनले जनाएको छ । उनीहरु सबै गैह्र-कानुनी कामदार भएको समाचारमा उल्लेख छ । शुक्रबार राति प्रहरीले चलाएको अपरेसनमा मनोरञ्जन आउटलेटका म्यानेजर पनि पक्राउ परेका छन् । उनी ३८ वर्षीय बंगलादेशी नागरिक हुन् । मलेसियन नागरिकको नाममा रहेको केन्द्र भाडामा लिएर उनले त्यहाँ यौन ब्यवसाय चलाएका थिए ।
त्यहाँ गेष्ट रिलेसन अफिसरको रुपमा कार्यरत सबै महिलालाई देहब्यापारमा लगाइएको प्रहरीको आशंका छ । मलेसियामा विभिन्न कामका लागि पुगेका धेरै महिला अवैधानिक भएपछि यस्तो व्यवसायमा संलग्न हुने गरेको पाइएको छ ।
राम्रो कमाइ हुने प्रलोभनमा नेपाली महिला पनि यस्तो व्यवसामा यफस्ने गरेका छन् । प्रायः महिलालाई गेष्ट रिलेसन अफिसरका रुपमा राखेर यौन व्यवसायमा संलग्न गराउने गरेको पाइन्छ ।
प्रकाशित मिति: १ चैत्र २०७२, सोमबार