उर्लाबारीमा समुदाय – प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै


 


उर्लाबारी ।  मोरङको उर्लाबारी नगरपालिका समुदाय – प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन् । जनतासँग समन्वय गरेर समाजमा आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले थालिएको समुदाय प्रहरी साझेदारी अभियान कार्यक्रम उर्लाबारीमा झनै प्रभावकारी बनेको सरोकारवालाहरुले बताएका हुन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले शनिवार उर्लाबारी–९ मा आयोजना गरेको सन्थाल समूदायलाई शैक्षिक सामग्री वितरणमा बोल्दै उनीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले अपराधका घटना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्रियपूर्वक लागि परेको बताउँदै उहाँले लागुऔषध नियन्त्रणका लागि पनि अभियान सञ्चालन भइरहेको बताउनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम गरी जनतासँग प्रहरीको गतिबिधि बढाउने र जनतासँगै प्रहरी पनि छ है भन्ने भावनाको विकास गराउने काम गरिरहेको उहाँले बताउनुभयो । त्यस्तै, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रहरी प्रशासनले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।

अपराधमुक्त सभ्य समाज निर्माणमा उहाँले जोड दिनुभयो । सुरक्षाको विषयमा पनि नगरपालिकाबाट साथ सहयोग रहने नगर प्रमुख फागोले बताउनुभयो । त्यस्तै, उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले जनतालाई सुरक्षाको प्रत्याभूदिन दिलाउन सबै पक्ष लागि पर्नु पर्ने बताउनुभयो । उहाँले जनतासँग प्रहरी कार्यक्रमले जनतासँग सिधा सम्पर्क बढाउने भएकाले अपराध नियन्त्रणमा सहयोगी बनेको बताउनुभयो । उर्लाबारी वडा नं. ८ का वडाध्यक्ष कुलबहादुुर कार्कीले प्रहरी र जनताको समधुर सम्बन्ध कायम हुन सके अपराधका घटना नियन्त्रणमा ठूलो सघाउ पुग्ने बताउनुभयो ।

सो अवसरमा प्रहरीले एक सय ४० सन्थाल समूदायका बालबालिकाहरुलाई शैक्षिक सामग्रीसहित लत्ताकपडा वितरण गरेको छ । यस्तै, इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको डिजिटल बोर्डको समेत उद्घाटन गरिएको छ । उर्लाबारी नगरपालिकाको सहयोगमा उक्त वोर्ड राखिएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउने सवालमा प्रहरी सक्रियपूर्वक लागि परेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको निर्देशन बमोजिम समूदाय प्रहरी साझेदारी, जनतासँग चिया कार्यक्रम, सचेतनामूलक कार्यक्रमलगायत सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले बिद्यालयमा लागुपदार्थ दुव्र्यसनी र ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । उर्लाबारी प्रहरीले समुदायसँग साझेदारी गरेर सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेपछि यसको सकारात्मक प्रभावहरु पर्न थालेको नागरिक अगुवाहरुले बताएका छन् ।

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्