प्रधानमन्त्रीकी छोरी पाठ्यपुस्तकविहीन


 


मुगु । गाउँघरमा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने मुगु मकामरोग गाउँपालिका माग्री गाउँकी ८ वर्षीया ठिल्लेसाङमु लामा पुस्तक बिना विद्यालय जान बाध्य छिन् । गत वर्षको कर्णाली रारा पर्यटक वर्ष २०७५को शुभारम्भसँगै विद्यार्थी भर्ना अभियानको सुरुआत गरेका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले ठिले साङमुको अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गराएका थिए ।

कक्षा–१ मा प्रथम भई वैशाख–२ गते बुद्ध माध्यमिक विद्यालयमा कक्षा–२ मा भर्ना भएकी ठिल्लेसाङमुको हातमा किताब छैन । भर्ना भएको तीन सातासम्म पनि किताब उनको हातमा परेको छैन । उनी कक्षा १ मा ८३ प्रतिशत अंक ल्याएर प्रथम बनेकी हुन् ।

शिक्षकले पुस्तक आउँछ भन्दै दैनिकजसो टार्ने गरेको उनको गुनासो छ । उनका बाजे कार्माछेवाङ लामाले किताब नपाउँदा नातिनीले पढाइमा ध्यान नदिएको बताए । ‘विद्यालय त नियमित जान्छिन्’ उनले भने, ‘तर पुस्तक बिनै स्कुल पठाउँदा पढाइमा उनले जति ध्यान दिनुपर्ने हो त्यति दिन सकेकी छैन ।’ प्रधानमन्त्रीकी छोरी ठिल्लेसाङमू लामाको हातमा पाठ्यपुस्तक नहुँदा पढाइ प्रभावित बनेको छ । उनीमात्र होइन, प्रधानमन्त्री पत्नी राधिका शाक्यले भर्ना गराएकी छिरिङछोन्जुङ लामाले पनि नयाँ पाठयपुस्तक पाउन सकेकी छैनन् । उनी अहिले कक्षा–३ मा भर्ना भएकी छन् । उनको पनि पढाइ प्रभावित भएको छ । दुवैजना पाठ्यपुस्तक हातमा नहुँदा विद्यालय नियमित छैन ।

छिरिङछोन्जुङ झोलामा च्यातिएका पुराना र अधुरा किताब बोकेर विद्यालय जाने गरेकी छन् । किताब छैन भनेर बेलाबेलामा विद्यालय जान आनाकानी गर्छिन् । प्रधानमन्त्रीकी छोरी ठिल्लेसाङमू र राधिका शाक्यकी छोरी छिरिङछोन्जुङ दुवैले अहिलेसम्म नयाँ पोशाक सिलाउन सकेका छैनन् । घरको आर्थिक अवस्था कमजोर हुँदा उनीहरू पुरानो लुगामा विद्यालय जाने गरेका हुन् ।

बुद्ध माध्यमिक विद्यालयका शिक्षकका अनुसार विद्यालयका कुनै पनि विद्यार्थीले पुस्तक पाउन सकेका छैनन् । चालु शैक्षिक सत्रको नयाँ पाठ्यपुस्तक आइ नपुग्दा विद्यार्थीको पठनपाठन अन्यौलमा परेको उनको भनाइ छ । उनका अनुसार केही विद्यार्थीलाई पुराना पाठ्यपुस्तक दिइएको भए पनि पुरै सेट छैनन् । भर्ना अभियान सकेर पढाइ सुरु गरिसकेका छौँ ।

अहिले पुराना किताबबाट काम चलाउँदै पठनपाठन गराइरहेका विद्यालय स्रोतले जनाएको छ । जिल्लामा पुस्तक ढुवानी गर्न सिफारिस लिएका तीन स्टेसनरीले किताब नल्याउँदा समस्या भइरहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सूर्य खत्रीले बताए । पाठ्यपुस्तक छिटो ल्याउन बारम्बार ताकेता गरिरहे पनि बेवास्ता गरिरहेको उनले जनाए । खत्याड गाउँपालिकामा भने पाठ्यपुस्तक ढुवानी भई वितरणसमेत भइसकेको प्रमुख खत्रीको भनाइ छ ।

अध्ययन गर्न दियालोको भर

सल्लाको दियालो बालेर पढ्छिन् प्रधानमन्त्री छोरी ठिल्लेसाङमु र राधिका शाक्यकी छोरी छिरिङछोन्जुङ लामा । दुवै जनाको घरमा आर्थिक अवस्था कमजोर भएकाले उनीहरूको घरमा उज्यालो बनाउने कुनै वस्तु छैन ।

उज्यालोका लागि सल्लाको दियालो प्रयोग गर्ने गरिन्छ । तर, त्यो सजिलै पाइँदैन । उज्यालोका लागि सल्लाको दियालो ल्याउन एक दिनभरि जंगल जाने गरेको ठिल्लेसाङमु आमा छिजु तामाङ लामाले बताइन् । ’घरमा उज्यालो गर्ने अन्य साधन नभएपछि सल्लाको दियालो बाल्ने गरेका छौँ । छोरीले पनि अँध्यारोको समय सल्लाको दियालो बालेर पढ्ने गरेकी छिन् ।

‘विद्यालयमा कस्तो पढाइन्छ थाहा छैन । तर, घरमा घरायसी समस्याले पढ्न खासै पाउँदिनन्’ उनले भनिन् ,‘सोलार किन्ने पैसा छैन । खेतीपाती गरौँ, जग्गा छैन । तीन महिनासम्म पनि खाना पुग्दैन । पति तीन वर्ष पहिले बित्नुभयो । सबै जिम्मेवारी ममाथि थपिएको छ । प्रधानमन्त्रीले छोरीलाई स्कुल त भर्ना गरिदिनुभयो । कापी कलम किन्नै समस्या छ ।’

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्