राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी भन्छिन् – ‘आमालाई भेट्नै गाह्रो’


 


बिनासर्त माया, प्रेम, ममता, वात्सल्यको अर्को नाम हो– आमा । आमा अर्थात् सन्तानका लागि सुरक्षाकवच, भावनात्मक तागत र मानसिक सबलता । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने दिन । यो दिन आमालाई भेट्न जान्छु । तर उपहार भनेर विशेष केही लाने गरेकी छैन । त्यसै पनि ममीलाई उपहार मन पर्दैन । अरू बेला पनि ‘उपहार–सुपहार नल्याओ’ भन्ने गर्नुहुन्छ । तैपनि कतै गएर आउँदा किन खाली हात गर्नु भनेर हामी केही न केही दिने गर्छौं । प्रायः बुके दिने गर्छौं । सारी वा सलवार–कुर्ता पनि दिन्छौँ कहिलेकाहीँ ।

ममी आफूले उपहार नलिने भएर होला, हामीलाई पनि दिने गर्नुभएको छैन । मन नभएरभन्दा पनि किनमेल गर्ने उहाँको बानी नभएर र समय नमिलेर यस्तो भएको हो । सानैदेखि हामीलाई उहाँले गिफ्ट दिनुभएन । बिहे भएपछिको मेरो पहिलो बर्थ–डेमा चाहिँ उहाँले मलाई सानामा म उहाँको काखमा बसेको फोटो फ्रेममा हालेर दिनुभएको थियो । म एक–डेढ वर्षकी हुँदाको त्यो फोटो उपहारमा पाउँदा म ‘इमोसनल’ भएकी थिएँ, ममी पनि । म आफैँ दसमहिने छोरीकी आमा हुँ । आफू आमा बन्दा नौलो अनुभूति त हुँदो रहेछ, आफैं आमा भइसकेपछि आफ््नी ममीको महत्त्व त झन् बुझिँदो रहेछ । हाम्रा लागि भने यो नयाँ विषय होइन । किनकि हाम्री ममी एकल अभिभावक हुनुभएकाले बहिनी (निशाकुसुम) र मैले उहाँको संघर्षलाई सानैदेखि देख्दैभोग्दै आयौं । अनेक कठिनाइ भए पनि उहाँले हामीलाई हुर्काउनुभयो । हामीले बुझ्ने भएदेखि नै उहाँका दुःख बुझ्दै आइरहेका छौं, उहाँलाई संघर्षकी प्रतिमूर्ति मान्दै आइरहेका छौं ।

हामीलाई हुर्काउनमै ममीले धेरै कठिनाइ झेल्नुपर्‍यो । २०५० सालको जेठमा ड्याडी (मदन भण्डारी) को दासढुंगामा असामयिक निधन हुँदा हामी सानै थियौँ । म आठ वर्षकी थिएँ भने, बहिनी झन् सानी । हामी मोरङको बाहुनीमा मामाघरमा बस्थ्यौं । मृत्यु भनेको के हो भन्ने मलाई थाहा थिएन । ड्ययाडीको निधनबाट भएको सन्तापलाई हामीले त्यति बेला बुझ्न सकेनौँ । तर उमेर बढेसँगै हामीमा डर बढ्दै गयो । पलपलमा आतंकित, सन्त्रस्त हुने गर्थ्यौं । ममी कतै जानुभयो भने गन्तव्यमा पुगेपछि फोन गरेर हामीलाई ढुक्कबनाउनैपर्ने ! मेरो यो स्वभाव अझै छ । मेरो नजिकको मान्छे कहीँ गएपछि उसले मलाई जनाउ दिनैपर्छ ।

एकल अभिभावकका बच्चाहरू सानैदेखि परिपक्व हुँदै जान्छन् । उहाँलाई आफूले पनि अभिभावकत्व दिनुपर्छ, रेखदेख गर्नुपर्छ, ख्याल गर्नुपर्छ भन्ने बोध बच्चाहरूमा बेलैमा हुने गर्छ । स्कुल पढ्दा बहिनी र मलाई होस्टलमा राखिदिनुभएको थियो, विराटनगरमा रहेको हजुरबुवा (ममीका काका) को स्कुलमा । त्यति बेला ‘ला, ममी त घरमा एक्लै हुनुहुन्छ, उहाँलाई अब कसले हेरचाह गर्ला’ भन्ने लाग्थ्यो मलाई । त्यसैले ममीलाई लिएर म सानैदेखि बढी नै ‘इमनोसनल’ छु । राष्ट्रपतिमा उहाँको चर्चा चल्दै गर्दा अविश्वास लागिरहेको थियो । ममीको स्वभाव ‘क्याम्पेनर’ खालको थियो । पार्टी संगठनमा बढी हिँडिरहनुपर्थ्यो, पूर्वपश्चिम गरिराख्नुपर्थ्यो । अब उहाँ राष्ट्रपतिजस्तो सीमित भूमिकामा खुम्चिनुपर्ने भयो भनेर सुरुमा ममीलाई त्यो सक्रिय जीवन ‘मिस’ हुन्छ कि जस्तो लागेको थियो । तर, त्यसको टुंगो लागेपछि, उहाँले शपथग्रहण गर्नुभएपछि मलाई उहाँकी छोरी हुन पाएकामा सारै गर्वबोध भयो । पार्टीले, समकालीन नेताहरूले, संसद्ले उहाँप्रति विश्वास गरेर हामीलाई निकै आभारी बनाए । ‘मिक्स्ड इमोसन’ को बेला थियो त्यो ।

ममी भित्री रूपमा एकदमै सुदृढ हुनुहुन्छ । सुख भए पनि दुःख भए पनि उहाँ हामीलाई, कसैलाई पनि, देखाउनुहुन्न । उहाँ आफ्ना भावनालाई अति नै नियन्त्रण गर्न सक्नुहुन्छ । ममी परिस्थिति हेरेर घरी यता घरी उता ढलपल गर्नुहुन्न । यो उहाँको निकै सबल पक्ष हो । कतिसम्म भने, परिवारका सदस्यहरू मात्रै बसेर गफ गर्दाखेरि पनि प्रायः घरायसी सन्दर्भ निकाल्नुहुन्न । हाम्रो करिअरकै बारेमा कुरा गर्नुहुन्छ । ‘तिमीहरूले सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्नुपर्छ’ भन्नुहुन्छ । अरूका आमा–छोरीमा जस्तो गफै हुँदैन हामीबीच । बाहिर अरूसित जस्तै गफ गर्नुहुन्छ हामीसित पनि । हामीले आफ्नो समस्या राख्यौं भने बेग्लै कुरा, नत्र उहाँले व्यक्तिगत कुरा कहिल्यै गर्नुहुन्न । पहिलेदखि यस्तै हुनुहुन्छ उहाँ । हामीसित पनि उहाँ आमा कम अभियन्ता बढीका रूपमा प्रस्तुत हुने गर्नुहुन्छ । अचेल गफ गर्दा ममीलाई मन पर्ने विषय जलवायु परिवर्तन हो । उहाँ भन्ने गर्नुहुन्छ, ‘पृथ्वीको तापक्रम दिनानुदिन बढ्दै गएको छ । अब नातिनीको पालामा मैले आफ्नै आँखाले यसले निम्त्याउने संकट हेर्नुपर्ने भो । यस्तो नहोओस् भनेर तिमीहरूले पनि आआफ्ना ठाउँबाट काम गर्नुपर्छ ।’

कहिलेकाहीँ मलाई उहाँ ममीकै रूपमा बोलिदिए हुनेजस्तो लाग्छ, तर लागेर के गर्नु ! उहाँसँग बसेर हामीले कहिल्यै फिल्म हेरेका छैनौँ । सँगै रेस्टुराँ गएका छैनौँ । क्यान्सर भएका बेला उपचारका लागि नयाँ दिल्ली बस्दा पनि उहाँ कहिल्यै रेस्टुराँ जान मान्नुभएन । बाहिर गएर खान मन पराउनुहुन्न । अचेल घरतिरै खाँदा पनि ‘हामी पहाडमा यसरी पकाउँथ्यौं, अहिलेका सागपातमा हाम्री आमाले पकाएजस्तो स्वाद छैन’ भन्नुहुन्छ । हाम्री आमा (हजुरआमा मिथिला पाण्डे) वर्षमा एकचोटि काठमाडौँ आउनुहुन्छ । तराईको गर्मी छल्न । ममीका बुवा पनि ममी आठ–नौ वर्षकी हुँदा बित्नुभएको थियो । आमाले उहाँकै स्मृतिमा सुनसरीको बराहक्षेत्रमा वृद्धाश्रम चलाउनुभएको छ । आमालाई ममीले वृद्धाश्रममा राख्नुभयो भनेर एकचोटि मिडियाबाजी भएको थियो, जुन सरासर गलत थियो । आमाले आफ्नै चाहनाले, आफ्ना पतिको सम्झना चिरस्थायी बनाउने वृद्धाश्रम चलाउनुभएको हो ।

ममी राष्ट्रपति भइसकेपछि हामीसँगको उहाँको व्यवहारमा कुनै फरक त आएको छैन तर भनेका बेला हामीले भेट्नचाहिँ पाउँदैनौं । उहाँको व्यस्तताका कारण । साँझ आठ–साढे आठ बजेपछि प्रायः उहाँ फुर्सद मिल्ने भएको हुनाले भेट्नुपरे त्यही बेला जानुपर्छ । सामान्यतया डिनरमा मात्रै हो उहाँसँग हाम्रो भेट हुने । उहाँ कति व्यस्त हुनुहुन्छ भने, दिउँसोको खाना कहिल्यै ठीक समयमा खुवाउन सकिएको छैन । कहिलेकाहीँ सामाजिक सञ्जालतिर ममीलाई अनावश्यक मुद्दामा मुछेको देख्दा अचम्म लाग्छ । हुन त सामाजिक सञ्जालमा कसले के लेख्छ भनेर खोजी हेरी साध्य हुँदैन । कसैलाई के लाग्छ, त्यो लेखिदिइहाल्छ । नपढ्नेले नपढे भइहाल्यो । म यसमा धेरै समय नबिताउने भएकाले यसरी लेखिएका कुराले खासै असर गर्दैन ।

ममी राष्ट्रपति हुनुभएपछि उहाँको बसाइ शीतल निवासमा सर्‍यो । त्यसअगाडि भन्दा फरक दिनचर्या सुरु भयो उहाँको । तैपनि उहाँ र हामीबीच ‘मिस’ हुने कुरा केही छैन । किनकि, राष्ट्रपति हुनुभन्दा अगाडि पनि उहाँ पार्टीका काममा व्यस्त नै हुनुहुन्थ्यो । शीतलनिवास गएपछि उहाँको व्यस्तताको प्रकार मात्रै बदलिएको हो । हामी होस्टल बस्दा पनि मलाई ममीले हामीलाई छोडेर हिँड्नुभयो भन्ने भावना कहिल्यै आउँदैनथ्यो । घरमै भए पनि उहाँले समय दिन सक्नुहुन्नथ्यो, पार्टीका कामले गर्दा । त्यसअगाडि भूमिगत अवस्थामा हुँदा पनि ड्याडीममीसँग मेरो भेट कहिलेकाहीँ मात्र हुने गर्थ्यो । कहिलेकाहीँ समय मिलाएर लुक्दैवर्दै बाहुनी आउनुहुन्थ्यो । अनि सम्झाइबुझाइ गरेर हिँडिहाल्नुहुन्थ्यो ।

ममीले हामीलाई सम्झाउँदा जहिल्यै स्वास्थ्य र शिक्षालाई केन्द्रमा राख्नुभयो । जाँचमा हाम्रो कम्ती नम्बर आउँदा उहाँ भन्नुहुन्थ्यो, ‘जीवनको अमूल्य सम्पत्ति स्वास्थ्य हो । स्वास्थ्य बिगार्ने बाटोमा कहिल्यै नलाग्नू । त्यसपछि अर्को मूल्यवान् सम्पत्ति भनेको शिक्षा हो । शिक्षा यस्तो सम्पत्ति हो, जसलाई कसैले चोर्न सक्दैन । शिक्षा जति धेरै आर्जन गर्न सक्यो, आफू त्यति धनवान् होइन्छ ।’

हामीले आत्मविश्वास डगमगाएको थाहा पाए ममी रिसाउनु पनि हुन्छ । यही ‘फाउन्डेसन (मदन भण्डारी फाउन्डेसन) मा तिमीहरूको सक्रियता पुगेन’ भन्ने गर्नुहुन्छ । करिअरका विषयमा छोरीहरूले लत्तो छाडे भन्ने लाग्यो भने पनि बेखुसी देखाउनुहुन्छ । आमा र सन्तानबीच पुस्तान्तरण हुने भएकाले कहिलेकाहीँ कुरा नमिल्न सक्छ, तर त्यो क्षणिक हुनुपर्छ । नयाँ पुस्ताले प्रविधिमा अगाडि नभए पनि आमाहरूले यो अवस्थासम्म आइपुग्दा लामो अनुभव बटुल्नुभएको हुन्छ, अहिलेका युवाहरूले यसरी पनि हेर्नुपर्छ।
(कुराकानीमा आधारित।) कान्तिपुरबाट

प्रकाशित मिति: २१ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्