‘मेरो सरकार’ प्रकरणमा प्रधानमन्त्रीले गरे राष्ट्रपतिको बचाउ


 


२१ बैशाख – शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेकामा चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीको बचाउ गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर पटक–पटक सम्बोधन गरेको भन्दै व्यापक आलोचना भएपछि त्यस विषयमा प्रधानमन्त्री केपी शर्माले ओलीले स्पष्टीकरण दिएका हुन ।

शनिबार बिहान सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु अन्तर्रा्ष्टिय प्रचलन भएको बताएका छन् ।

शुक्रबार संसदमा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्द पटक–पटक प्रयोग गरेकी थिइन् ।

यो शब्दले राजाकै झल्को दिएको भन्दै सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म व्यापक आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षलगायत राजनीति दलका नेताहरूले पनि राष्ट्रपतिको सम्बोधनको आलोचना गरेका छन् ।

त्यस विषयमा सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले भने, ‘मैले मेरो देश भन्छु, तपाईँको अरुको होइन भनेको हो र ? मेरो भन्ने कुराको सामूहिक अर्थमा बुझ्ने प्रयास हो । राष्ट्रप्रमुखको हैसियतले यो सरकार राष्ट्रपतिकै हो । त्यसैले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु भएको हो ।

यो अन्तर्रा्ष्ट्रिय प्रचलन पनि हो । यसअघिका राष्ट्रपतिको सम्बोधन युट्युबमा हेर्नुभयो भने पनि यस्तै भनेको देखिन्छ ।’ सामाजिक सञ्जालमा व्यापक आलोचना भईरहेका बेला यो अर्थमा प्रधानमन्त्रीले यसो भनिरहँदा कतै प्रधानमन्त्रीले राष्ट्रपतिको बचाउ गरेका त हैनन् ? भन्ने प्रश्न समेत उठ्न थालेको छ ।

प्रकाशित मिति: २१ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्