सभापति देउवाले अन्तिम टुंगो लगाएर एक-दुई दिनमै सरकार घोषणा गर्ने !


 


काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो । गगन थापा, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, मानबहादुर विश्वकर्मा, बद्री पाण्डेलगायत नेता प्रस्तावित मन्त्रीको सूचीमा छन् ।

सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाएपछि छाया सरकार घोषणा गर्ने तयारी छ । यसबारे कांग्रेसको प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले देउवासँग छलफल गरेका छन् । प्रस्तावित नाममा सभापतिले सहमति जनाए शनिबार बस्ने संसदीय दलको बैठकबाटै मन्त्रीहरू घोषणा हुने कांग्रेस स्रोतले जनायो ।

‘हामीले सरकारका कामलाई नजिकबाट निगरानी गर्नका लागि छाया सरकार गठन गर्ने पूर्वघोषणाअनुसार सम्बन्धित मन्त्रालय हेर्ने संयोजकको लगभग टुंगो लगाएका छौँ,’ कांग्रेस स्रोतले भन्यो, ‘घोषणा हुँदासम्म तोकिएका नाममा मन्त्रालयको हेरफेर हुन सक्छ, तर नाम भने यिनै हुनेछन् ।’

गत २४ पुसमा बसेको पार्टी संसदीय दलको बैठकले छाया सरकार बनाउने औपचारिक निर्णय गर्दै इच्छाएका तीन मन्त्रालयको नाम पेस गर्न सांसदहरूलाई भनेको थियो । ३० भन्दा बढी सांसदहरूले गरेको प्रस्तावका आधारमा कांग्रेसले छायामन्त्रीको सूची तयार गरेको हो । पदाधिकारी, पूर्वपदाधिकारी, संसदीय दलका उपनेता, प्रमुख सचेतकबाहेक मन्त्री भइसकेका र केन्द्रीय सदस्यमध्येबाट छायामन्त्री बनाइँदै छ । एउटा मन्त्रालय हेर्न तीनदेखि चार सदस्य तोक्ने तयारी पनि छ । छाया सरकारमा २१ मन्त्रीसहित ६६ सांसदले भूमिका पाउनेछन् ।

प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार मन्त्रालयमा एक संयोजक र अरू उपसंयोजक हुनेछन् । नेपाल सरकारका मन्त्रालयहरूमा भएका राम्रा कार्यको जानकारी राख्ने, कमीकमजोरी र अनियमिततालाई जनसमक्ष ल्याउने भूमिका छायामन्त्रीहरूले खेल्ने खाणले बताए ।

कांग्रेस नेता भन्छन्– झन्डा, डन्डा र गाडी नपाउने भए पनि छायामन्त्री चुन्न प्रधानमन्त्रीलाई जस्तै गाह्रो
छायामन्त्री भए पनि धेरै आकांक्षीबाट छान्न गाह्रो भएको कांग्रेसका एक नेताले बताए । संयोजक छान्न नसकेकैले समय लिएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीलाई मन्त्री बनाउनजस्तै हामीलाई छायामन्त्री बनाउन पनि गाह्रो भएको छ,’ ती नेताले भने, ‘झन्डा, डन्डा र गाडी नहुने भए पनि गृह, अर्थ, पर्यटनसहितका मन्त्रालयमा धेरैको दाबी हुँदा हामीलाई नाम टुंग्याउन केही समय लागेको हो । अब ढिलो हुँदैन ।’ दाबेदारहरू रिसाउने, गुटगत भागबन्डा खोज्नेजस्ता समस्या नआऊन्् भनेर पनि पहिले नै नाम घोषणा नगरिएको उनको दाबी छ ।

प्रकाशित मिति: २१ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्