पूर्व राष्ट्रपती ओबामाले फिल्म निर्माण गर्दै
काठमाण्डौ । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा फिल्म निर्माणको क्षेत्रमा उत्रिएका छन् । श्रीमती मिशेल ओबामासँग मिलेर उनी फिल्म, सिरिजको निर्माण गर्ने तयारीमा छन् ।
यसका लागि उनले नेटफ्लिक्ससँग सम्झौता गरेका छन् । ओबामा दम्पत्तिले मनोरञ्जनात्मक मात्र नभई प्रेरणादायी एवं मानिसहरुलाई शिक्षित बनाउने फिल्म निर्माण गर्ने आफ्नो उद्देश्य भएको जानकारी दिएका छन् ।
ओबामाले गत वर्ष आफ्नो प्रोडक्सन कम्पनी हायर ग्राउन्ड बनाएका थिए । यसमार्फत् उनले सात प्रोजेक्टको घोषणा गरेका छन् । प्रिया स्वामीनाथन र टोनिया डेविससँग मिलेर उनी आफ्नो महत्वाकांक्षी योजनामा काम गर्नेछन् ।
आफ्नो नयाँ प्रोजेक्टबारे मिशेल ओबामा भन्छिन्, ‘हामीलाई यो काम निकै मनपर्छ । यसमा अत्यधिक अनुभवसँग गुज्रनुपर्छ । यसमार्फत् धेरैभन्दा धेरै कुरा सिक्न पाउँछौं । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने हामीले ती कहानीमा काम गर्नेछौं जुन हामीले दैनिक हाम्रो चारैतिर देख्ने गर्छौं । यहाँ सबैका लागि केही न केही छ । चाहे कुनै उत्सुक बच्चा हुन् वा उनको परिपक्व आमा–बुवा ।
प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार