ओली सरकारले सातै प्रदेशमा विद्युतीय बस सञ्चालनमा ल्याउने


 


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशका प्रमुख शहरमा विद्युतीय बस सञ्चालनमा ल्याउने नीति ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै आगामी आवदेखि सबै प्रदेशमा विद्युतीय बस सञ्चालनमा ल्याउने बताइन् । ठूला सार्वजनिक सवारीसाधन सञ्चालनलाई प्रोत्साहित गरिने तथा वायुमण्डलको स्वच्छता र जनस्वास्थ्यलाई ध्यानमा राखी विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गरिने नीति ल्याएको छ ।

काठमाडौँ उपत्यका र सातै प्रदेशका प्रमुख शहर तथा आसपासका क्षेत्रमा नेपाल सरकार, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसमेतको सहभागितामा आगामी आवदेखि विद्युतीय बस सेवा सञ्चालनमा ल्याइनेछ ।

विद्युतीय सवारीसाधनको प्रयोगलाई देशव्यापी बनाउन पर्याप्त चार्जिङ स्टेशन स्थापना गरिनेछ । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्यपछि सार्वजनिक परिवहन प्रणालीलाई व्यवस्थित गर्न यातायात प्राधिकरण स्थापना गर्ने भएको छ । सार्वजनिक यातायातका साधनमा यात्रा कार्डको व्यवस्था गरिनेछ सार्वजनिक यातायातलाई तोकिएको समयमा गन्तव्यमा पुग्ने व्यवस्था गर्ने नीति पनि सरकारले लिने भएको छ ।

हाल सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रुलाई दुःख दिने गरेका छन् । सवारीसाधन चढ्न यात्रुले घण्टौँ सडकमा कुर्ने गरेका छन् । सरकारले लामो समयदेखि उपत्यकामा विद्युतीय बसको आवश्यकता ठहर गर्दै बस सञ्चालनमा ल्याउने तयारी गरेको थियो ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्