ओली सरकारले सुन, पेट्रोल र फलाम खानीको उत्खनन् गर्ने


 


काठमाडौं । सरकारले नवलपरासीको धौवादीमा फेला परेको फलाम खानीमा आगामी आर्थिक वर्षबाटै व्यवसायिक उत्पादन थाल्ने भएको छ । सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

सरकारले आगामी वर्षभित्र नेपालका पेट्रोल तथा सुन खानीको अध्ध्यन सुरु गरेर उत्खन्न सुरु गर्ने घोषणा पनि गरेको छ । केही वर्ष अघि नै नवलपरासीको धौवादीको १० किलोमिटर क्षेत्रमा फलाम खानी फेला परिसकेको छ ।

पहिलो चरणमा गरिएको अध्ययनमा त्यहाँ दुई करोड टनको फलाम खानी रहेको पुष्टि भइसकेको छ । नवलपरासीको पूर्वमा धौवादी र पश्चिममा देउराली गाविसको नाम्जाकोट हुँदै दक्षिणमा रुम्से र उत्तरमा नरमको ल्हापेसम्म फलाम खानी छ ।

विसं ०६८ सालमा कोइलाखानीका लागि आएको खानी तथा भूगर्भ विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा फलाम खानी पत्ता लगाएको थियो । त्यसको चार वर्षपछि मात्रै सरकारले यसको औपचारिक अध्ययन अघि बढाएको थियो ।

अध्ययनमा त्यहाँको कच्चा पदार्थमा ५८ प्रतिशतसम्म फलाम निकाल्ने तत्व भेटिएको थियो । फलाम खानीका लागि ६० प्रतिशत हेमटाइडवेर उत्तम र ३० देखि ६० प्रतिशत मुनि मध्यमखालको मानिन्छ ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्