तीन म्यानपावरमा छापा, गलत गर्ने सबै अनुसन्धानमा तानिने : महानिर्देशक भूसाल


 


काठमाण्डौं : बैदेशिक रोजगार विभागले तोकिए भन्दाबढी रकम लिएको र पूर्व स्वीकृती विना अन्तर्वार्ता गराएको भन्ने उजुरीमा राजधानीका विभिन्न स्थानमा रहेका तीनवटा म्यानपावर कम्पनीमा अनुगमन गरेको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारहरुले छनोटका क्रममा तोकिएभन्दा आफुहरुबाट धेरै रकम लिएको उजुरी परेपछि विभागले बिहीबार सामाखुसीस्थित बि.एस ओभरसिज प्रा.लि र स्किलजोन कन्सल्टेन्सी नेपाल प्रा. लि तथा एयरपोर्ट स्थित मन्सुर म्यानपावर प्रा.लि.मा अनुगमन गरेको हो ।

बि.एस ओभरसिज प्रा. लि र स्किलजोन कन्सल्टेन्सी नेपाल प्रा. लि मध्ये बि. एस ओभरसिजले मलेसियाबाट नयाँ डिमाण्ड आएको भन्दै नयाँ कामदार लिन अन्तरवार्ता गरेको भन्ने उजुरी विभागमा परेको बताइएको छ ।

बि.एस ओभरसिजले मलेसियाको लागि नयाँ डिमाण्ड आएको भन्दै कामदारहरु छनौट गर्न अन्तर्वार्ता शुरु गरेको उजुरी विभागमा परेपछि विभाग टोली पुगेको बताइएको छ । दुबै म्यानपावरका संचालक भिम बहादुर सापकोटाका हुन् । उनले विभागमा उजुरी परेपनि आफ्नो कम्पनीले मलेसियाको नयाँ डिमाण्डमा अन्तरवार्ता गराएको भन्ने विषय झुठा भएको दावी गरेका छन् ।

मध्यान्हसँग कुरा गर्दै सापकोटाले विगत ११ महिनादेखि मलेसिया ठप्प रहेको र अहिले कलिङ आएर बाँकी रहेका २/४ जनाको बाहेक मलेसिया सम्बन्धि कुनै काम नभएको बताए । “आझ बुधबार र बिहीबार त हाम्रो कार्यालय नै बन्द थियो”, सापकोटाले भने, “कसैको गलत सुचनाको आधारमा इजाजत प्राप्त कम्पनीलाई दु:ख दिन नहुने हो ।”

विभागले सापकोटालाई आवश्यक कागजात सहित विभागमा हाजिर हुन निर्देशन दिएको छ । यस्तै मन्सुर म्यानपावर प्रा.लि ले भने नेपाली कामदारलाई सिसेल्समा पठाउने भन्दै प्रतिव्यक्ति १ लाख भन्दा उठाएको बताईएको छ । विभागले मन्सुरका संचालक सइम मन्सुरलाई पनि शुक्रबार विभागमा हाजिर हुन निर्देशन दिएको छ ।

यसबारे मन्सुरका संचालक सइमसँग सम्पर्क गर्दा बिहीबार आफु कार्यालयमा नभएको र अहिले पनि आफ्नी श्रीमतीको उपचारका लागि अस्पतालमा रहेको बताए । उनले ५ महिना अघि सेसेल्सको इन्टरभ्यू गराएर ५ महिना देखि भीषा माग्दा माग्दा कम्पनीले नै भीषा उपलब्ध गराउन नसकेको बताए । अन्तर्वार्ता दिएका मध्ये १ जनासँग आफ्नो स्टाफले आफुलाई थाहै नदिइ ४० हजार रुपैयाँ लिएको थाहा पाएको उल्लेख गर्दै यसबारे आइतबार विभागमा गएर जानकारी गराउने बताए । उनले विभागले गर्ने नियमित अनुगमनमा व्यवसायीलाई कुनै आपत्ती नभएको समेत बताए ।

विभागका महानिर्देशक डा भिष्मराज भूसालले नियम कानूनको परिधिभित्र रहेर काम नगर्ने म्यानपावर कम्पनी जुनसुकै बेला कानूनको फन्दामा पर्ने भन्दै विभागले कसैको दवाव भन्दापनि उजुरीका साथ पेशहुने प्रमाणको आधारमा अनुसन्धान अघि बढाउने भन्दै उजुरीकर्तालाई तथ्य सहित उजुरी गर्न आग्रह गरेका छन् । सत्यतथ्य प्रमाणले मात्रै अनुसन्धान सफल र प्रभावकारी हुन्छ भन्दै महानिर्देशक डा. भुसालले गलत गर्ने सबै कारवाहीमा पार्ने दोहराउँदै भनेका छन्, ‘देर होला, अन्धेर हुँदैन ।’

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्