राष्ट्रिय प्रतिरक्षा विश्‍वविद्यालय स्थापना गरिने


 


काठमाडौं– सरकारले राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गरी राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउने भएको छ । शुक्रबार राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुराको घोषणा गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्न राष्ट्रिय प्रतिरक्षा विश्‍वविद्यालय स्थापना गरिने समेत जनाइएकी छिन् । उनले अब मुलुकमा हिंसाले स्थान नपाउने जनाउँदै नागरिकको जीउधन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि जुनसुकै प्रकारको हिंसात्मक गतिविधि प्रति आफ्नो सरकार कठोर रूपमा प्रस्तुत हुने समेत जनाएकी छिन् ।

उनले संविधान र कानुन विपरीतका कार्यमा संलग्‍न हुने, शान्ति सुरक्षामा खलल पुर्‍याउने र सामाजिक सद्‍भाव बिथोल्ने कुनै पनि प्रकारका आपराधिक क्रियाकलापमा संलग्न हुने जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने समेत घोषणा गरेकी छन् ।

अन्य बुँदा:
–अनुसन्धान र अभियोजनमा संलग्‍न जनशक्तिको क्षमता वृद्धि गरिनेछ।
–अनियमितता, सरकारी सम्पत्तिको अनधिकृत प्रयोग, अपचलन तथा दोहन र अन्य जुनसुकै आपराधिक कार्यमा संलग्न कुनै पनि व्यक्ति दण्ड सजायवाट उम्‍किन नपाउने गरी निगरानी, अनुसन्‍धान र छानबिन कार्यलाई सशक्त बनाइनेछ।
–प्रशासनिक तथा सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गरी शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्‍त्रण गर्न मेरो सरकार दृढ छ।
–सबै सुरक्षा निकायहरूलाई सबल¸ सक्षम र उत्तरदायी बनाई राष्‍ट्रिय सुरक्षा प्रणालीलाई थप सुदृढ बनाइनेछ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्