हावाहुरीले सगरमाथाको माथिल्ला क्याम्पका टेन्ट उडायो


 


काठमाण्डौँ । सगरमाथा आरोहणको याम चलिरहँदा आएको हावाहुरीले सर्वोच्च शिखरका माथिल्ला दुई शिविरका टेन्टहरू उडाएको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार फानी र पश्चिमी वायुको असरका कारण बिहीवार बेलुका र शुक्रवार बिहान आएको हुरीले क्याम्प टु र क्याम्प थ्रीमा रहेका झण्डै डेढ दर्जन टेन्ट उडाएका थिए।

थप केही दिन हुरी र वर्षाको पूर्वानुमान भइरहँदा सुरक्षित स्थानमा रहन आग्रह गरिएको पर्यटन विभागकी पर्वतारोहण हेर्ने निर्देशक मीरा आचार्यले बताइन्।

हामीले अत्यन्त जरूरी सूचनाका रूपमा सम्बन्धित क्षेत्रमा पत्राचार गरिसकेका छौँ, अहिले माथिल्ला क्याम्पबाट आधार शिविर झर्ने क्रम चलिरहेको छ। क्याम्प टुमा हुरीले केही टेन्ट उडाए पनि कुनै मानवीय क्षति नभएको अधिकारीहरू बताउँछन्।

झण्डै ६ हजार चार सय मिटरको उचाइमा रहेको क्याम्प टुमा चुचुरोमा पुग्ने बेलाका लागि थुप्रै खाद्यान्न, अक्सिजनका सिलिन्डर र अन्य बन्दोबस्तीका सामान भण्डारण गरिएका हुन्छन्।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्