निस्कलंक पोखरेल डीआईजी बढुवाको सिफारिसमा


 


विराटनगर ।  संगठन भित्र अहिलेसम्म कुनै पनि विवादमा नपरिकन निस्कलंक प्रहरी अधिकारीको छवि बनाएका विश्वराज पोखरेल नेपाल प्रहरीको डीआईजी (प्रहरी नायव महानिरीक्षक) को बढुवा सिफारिसमा परेका छन् ।

स्वच्छ छवि, भद्र र सालिन स्वभावका पोखरेल नेपाल प्रहरीका एसएसपी (प्रहरी बरिष्ठ उपरीक्षक) थिए । ६ महिनादेखि रिक्त रहेको नेपाल प्रहरीको डीआईजी पदमा उनको ब्याचबाट सिफारिसमा पर्ने पोखरेल एक्ला हुन् । बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उप–नियम (४) को प्रावधान अनुसार एसएसपीबाट डीआईजीमा बढुवाको सिफारिसको गरेको बढुवा समितिका सदस्य सचिव एवं नेपाल प्रहरीका एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) ठूले राईले जानकारी दिए ।

बढुवाका लागि नेपाल प्रहरी भित्र उनको कार्यसम्पादन क्षमतालाई आधार बनाइएको र त्यसको उच्च मूल्यांकनमा उनी परेको एक प्रहरी अधिकारीले बताए । नेपाल प्रहरीको आईजीपी (प्रहरी महानिरीक्षक) सम्म हुने ब्याचका प्रहरी अधिकारी हुन् पोखरेल । एकल बढुवामा परेपछि उनलाई भविश्यको आईजीपीका रुपमा हेरिएको छ । सिफारिससँगै उनका लागि आईजीपी बन्ने बाटो सहज भएको छ ।
प्रहरी–नागरिक सम्बन्ध विस्तार र सुधारमा प्रहरी संगठन भित्र उनको महत्वपूर्ण योगदान रहेको छ । प्रहरी संगठन शुन्य सहनशीलतामा चल्नु पर्छ भन्ने धारणा राख्ने र सबैलाई मिलाएर अघि बढ्न सक्ने क्षमताका पोखरेल नेपाल प्रहरीका तल्ला दर्जालाई माया गर्ने प्रहरी अधिकारीका रुपमा परिचित छन् । ‘संगठन भित्र सबैलाई समान व्यवहार गरेर अघि बढ्नु पर्छ भन्ने मान्यता राख्ने प्रहरी अधिकारीका रुपमा हामीले उहाँलाई चिन्छौं,’ जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत एक प्रहरी अधिकृतले भने, ‘उहाँको काम गर्ने शैली र क्षमता तथा कौशल अरु भन्दा विल्कुल भिन्न र प्रहरी एवं नागरिक मैत्री छ ।’

कुनै पनि विवादमा नतानिएको, तल्ला दर्जाको प्रहरीका लागि सधैं हित चिताउने, जगबाटै राम्रो भयो भने प्रहरी संगठन सर्वोत्कृष्ट बन्न सक्छ भन्ने सोंच राख्ने र कुशल कार्य क्षमताकै कारण पोखरेललाई प्रहरी भित्र नेत्रृत्व गर्न सक्ने अधिकारीका रुपमा लिइने गरिएको ती अधिकृतको भनाइ छ । उनका अनुसार प्रहरी संगठनमा धेरै राम्रा काम गरेकै कारण पोखरेल सबैको नजरमा परेका हुन् । ‘उहाँले सिंगो प्रहरी संगठन र आफूलाई कहिल्यै पनि विवादमा तान्ने काम गर्नु भएन,’ पोखरेल निकट स्रोतले भन्यो, ‘त्यही भएर सिंगो ब्याचबाटै बढुवा सिफारिसमा पर्ने एक्लो प्रहरी अधिकारी बन्न सफल हुनु भयो ।’

पोखरेल हेर्दा जति नरम र सालिन छन्, उनको काम गर्ने शैली भने भिन्न छ । कानुन कार्यान्वयनका सन्दर्भमा निक्कै कठोर रुपमा उत्रदै समाजमा व्याप्त गुण्डागर्दी र चोरी तस्करी नियन्त्रण गरेर चर्चामा आउने प्रहरी अधिकारी मध्ये उनी पनि एक हुन् । अपराधरहित समाज निर्माण गर्दै शान्ति सुरक्षाको अवस्थामा चुस्त दुरुस्त राख्नु पर्छ भन्ने मान्यतालाई आत्मासात गर्ने उनी विभिन्न जिल्लामा प्रहरीको नेत्रृत्व सम्हालेर बस्दा चर्चाको शिखरमा पुगेका थिए । अपराध अनुसन्धान र नियन्त्रणमा पोख्त प्रहरी अधिकारीका रुपमा उनलाई चित्रण गरिन्छ । एसपी (प्रहरी उपरीक्षक) रहेका बेला २०७०/०७१ मा पोखरेल सुरक्षाका दृष्टिकोणले चुनौतीपूर्ण मानिएको, अपराधिक एवं अवैध घटना तथा चोरी तस्करी र सीमा अपराध धेरै हुने एवं भारतसँग खुल्ला सीमा जोडिएको मोरङ जिल्लाको प्रहरी प्रमुख थिए ।

२०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनमा मोरङमा उनकै नेत्रृत्वमा प्रहरी परिचालित थियो । कुनै पनि घटना हुन नदिइकन शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सकेको भन्दै उनको त्यतिबेला उच्च प्रशंसा भएको थियो ।  गुण्डागर्दीले गाँजेको र गुण्डागर्दीकै कारण असुरक्षित जिल्लाका रुपमा चिनिएको मोरङमा उनले गुण्डागर्दीलाई शुन्यमा झारिदिएका थिए । उनका पालामा विभिन्न खाले गुण्डागर्दी र असुलीमा संलग्न तीन दर्जन भन्दा बढीलाई कारवाही गरिएको थियो । पोखरेलकै नेत्रृत्वमा गुण्डागर्दी नियन्त्रणमा प्रहरीले उल्लेख्य भूमिका निर्वाह गर्न सक्दा मोरङ अहिले गुण्डागर्दी विहीन जिल्लाका रुपमा परिचित छ । गुण्डगर्दी नियन्त्रणका लागि उनले ‘स्वीप अप्रेशन’ समेत चलाएका थिए । लागुऔषध ओसारपसार एवं कारोवार र होटल तथा रेष्टुराँमा हुने बेश्यावृत्ति नियन्त्रणका लागि अभियान चलाएका थिए ।

पोखरेल मोरङ प्रहरी प्रमुख हुँदा भारतबाट अवैध रुपमा भित्राइने गरेका साना हतियार सबै भन्दा बढी मोरङमा प्रहरीले नियन्त्रणमा लिएको थियो । एक वर्षको अवधिमा ३० वटा भन्दा बढी भारतबाट भित्रिएका हतियार मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो । भारततर्फ हुने सुपारी तस्करी नियन्त्रण शुन्यमा झारेकै कारण मोरङबासीले सधैं उनको प्रशंसा गर्ने गरेको नागरिक अगुवा सुजन लम्सालले बताए । उनले भने, ‘मोरङमा गुण्डागर्दी, मानव बेचबिखन, लागुऔषध, तस्करी, सीमा अपराध लगायत अन्य खाले अपराधिक घटना नियन्त्रणमा पोखरेल नेत्रृत्वको प्रहरीले पु¥याएको महत्वपूर्ण योगदानलाई सधैं कदर गर्नु पर्छ ।’
कोही कसैको दबाब र प्रभावमा नपरिकन प्रहरी अधिकारी पोखरेल कानुन अनुसार अघि बढेको र त्यही कारण उनलाई सफलता हात पर्दै गएको धेरै जसोको बुझाई छ ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्