प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमै भूमाफियाको दबदबा


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने सशस्त्र प्रहरी बल जवान तालिम शिक्षालय र गुल्मसहित जंगल क्षेत्रको साढे ३०० बिघा जमिन भूमाफियाले कब्जामा लिने प्रयास गरेको खुलासा भएको छ । भूमाफियाले अदालतलाईसमेत प्रभावमा पारेर सो जंगल क्षेत्रको जग्गा आफ्नो नाममा पार्ने अन्तिम तयारी गरिरहेको खुलासा भएको हो ।

महेन्द्र राजमार्गसँग जोडिएको खर्बौं रुपैयाँ मूल्य पर्ने ३४८ बिघा जमिन आफ्नो नाममा दर्ता गरिदिन सर्वोच्च अदालतको आदेशसहित दमक मालपोत कार्यालयमा निवेदन पेस गरेपछि प्रधानमन्त्री निर्वाचित क्षेत्रमासमेत भूमाफियाको दबदबा रहेको पाइएको हो ।

धादिङका केदारनाथ सेडाई, झापा, अर्जुनधारा नगरपालिका–३ का गोपीकृष्ण पोखरेल र इलाम नगरपालिका–५ का डम्बरकुमार भट्टराईलगायत १२ जनाले सर्वोच्च अदालतको फैसलाअनुसार सशस्त्र कार्यालय र आसपासका ९८ बिघा तथा जंगल क्षेत्र रहेको २५० बिघा जमिनको पुर्जा आफूहरुको नाममा दिन मालपोत कार्यालय दमकलाई दबाब दिइरहेका छन् ।

तर, मालपोत कार्यालयले भने जंगल क्षेत्रलाई व्यक्तिका नाममा दर्ता गर्न नसकिने भन्दै सो कार्य अगाडि बढाउन अस्वीकार गर्दै आएको छ ।मालपोत कार्यालय दमकका प्रमुख नवीन अधिकारीकाअनुसार सशस्त्र प्रहरी बलको गण रहेको क्षेत्र र वरपरको जग्गा सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले ३० पुस २०७४ मा गरेको फैसलाको आधारमा ती व्यक्तिले ९८ बिघा जमिन आफूहरुको भएको उल्लेख गर्दै नापजाँच गरी चारकिल्ला गाड्न मालपोतलाई दिएको पाइएको छ ।

यसैगरी, २०३६ सालदेखि नै जंगल भएको रतुवामाई वृक्षरोपण आयोजना भएको क्षेत्रको २५० बिघा जमिन १०जना भूमाफियाले आफ्नो नाममा दर्ता गर्न अन्तिम प्रक्रियामा रहेको पाइएको छ ।

भूमाफियाले अदालतलाईसमेत प्रभावमा पारेर कब्जा गर्ने प्रक्रिया अघि बढाएको जमिन प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा रहेको कमल गाउँपालिकाको महेन्द्र राजमार्गसँग जोडिएको छ । राजधानी दैनिक

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्