उर्लाबारीलाई लागुऔषधमुक्त नगर बनाउन पहल


 


उर्लाबारी, बैशाख १९

मोरङको उर्लाबारी नगरपालिकालाई लागुऔषधमुक्त नगर बनाउन पहल थालिएको छ । योसेक क्लब उर्लाबारी–३ मंगलबारेले समृद्ध उर्लाबारी हाम्रो अभियान भन्ने नाराका साथ लागुऔषधविरुद्ध अभियान तथा प्रतिबद्धता कार्यक्रम गरेको हो ।

आज इलाका प्रहरी कार्यालय उर्लाबारीको समन्वयमा भएको उक्त कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं.३ का वडाध्यक्ष गञ्जबहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि कार्कीले आफ्नो वडालाई लागु औषधमुक्त बनाउने अभियानमा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । त्यस्तै, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले लागुऔषध मुक्त बनाउने अभियानमा प्रहरी सक्रियपूर्वक लागिरहेको उल्लेख गर्नुभयो ।

उहाँले लागुऔषधकै कारण विभिन्न घटना घट्ने गरेको भन्दै उहाँले लागुऔषध नियन्त्रणलाई प्राथमिकता राखेर प्रहरी अघि बढिरहेको बताउनुभयो । त्यस्तै, योसेक क्लबका अध्यक्ष भीष्म बुढाथोकीले उर्लाबारी नगरपालिकालाई नै लागुऔषध मुक्त नगर बनाउनतर्फ सबैको ध्यान पुग्नु पर्ने बताउनुभयो । लागु औषधले परिवार र समाजलाई ठूलो क्षति पु¥याएको उहाँले बताउनुभयो ।

त्यस्तै, स्थानीय नागरिक अगुवा रुद्र तामाङले सकारात्मक सोचका साथ युवाहरु लागुऔषधको प्रयोगबाट मुक्त हुनु पर्नेमा जोड दिनुभयो । त्यस्तै, मंगलबारे युवा क्लबका अध्यक्ष पीपलराज गिरीले लागुऔषध प्रयोगकर्ताहरुलाई रचनात्मक काममा प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्