प्रदेश १ को स्थायी राजधानी र नाममा सहमति नजुटेपछि संसद बैठक स्थगित
विराटनगर, बैशाख १९
प्रदेश १ को संसद् बैठक स्थगित भएको छ । प्रदेशको नाम र राजधानीमा पक्ष र विपक्षीबीच विवाद भएपछि बैठक स्थगित भएको हो ।प्रदेश १ संसदले आज प्रदेशको नाम र राजधानीको प्रस्ताव लैजान दलहरूलाई समयसीमा दिएको थियो ।
तर, दलहरुबीच सहमति अझै हुन सकेको छैन । सत्तारुढ दलबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर फरक–फरक धारणा बाहिर आइरहेको र दलका सदस्यहरुबीचनै सहमति जुट्न नसकेपछि संसद् बैठक आईतबारसम्मका लागि स्थगित भएको छ । प्रदेशको नाम र राजधानीबारे टुंगो लगाउन नेकपाको बुधबारदेखि बैठक बसिरहेको छ ।
आजको लागि बोलाइएको प्रदेशसभा बैठक स्थगन भएसँगै प्रस्ताव दर्ता गर्ने अवधि तीन दिन पर धकेलिएको हो । प्रदेशसभा सचिवालयले नाम र राजधानीको प्रस्ताव १९ गतेसम्ममा दर्ता गर्न सूचना प्रकाशित गरेको थियो । तर, दलले भने यो अवधि बढाएर २२ गतेसम्म पुर्याएका हुन् । मुख्यमन्त्री शेरधन राईले प्रमुख विपक्षी कांग्रेस, विपक्षी संघीय समाजवादी फोरम, राप्रपा नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दलका नेता तथा प्रमुख सचेतकसँग छलफल गर्नुभएको थियो ।
प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार