कांग्रेसको समानान्तर कार्यालयमा संस्थापन पक्षद्वारा तोडफोड


 


दमौली : नेपाली कांग्रेस तनहुँका दुई गुटबीचको विवाद कार्यालय तोडफोडसम्म पुगेको छ। संस्थापन समूहनिकट भ्रातृ संगठनका कार्यकर्ताले बुधबार समानान्तर घोषणा गरेको समूहको कार्यालयमा तोडफोड गरिदिएका हुन्।

ट्रेड युनियन कांग्रेसले मे दिवसका अवसरमा आयोजना गरेको र्‍यालीमा सहभागी नेविसंघ सम्बद्ध युवाहरूले कार्यालय तोडफोड गरेका हुन्।

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले पार्टी संस्थापनले मनोमानी गरेको र चुनावमा हारको जिम्मेवार संस्थापन नै भएको आरोप लगाउँदै डिल्लीराम अधिकारीको नेतृत्वमा समानान्तर समिति घोषणा गरेको थियो। यसअघि पार्टी सभापति बैकुण्ठ न्यौपाने तथा कार्यवाहक सभापति जितप्रकाश आले छन्।

समानान्तर कार्यसमिति घोषणापछि पार्टी कार्यालय बीपी स्मृति भवनको विकल्पमा समानान्तर समितिले व्यास २ मालपोत लाइनमा कार्यालय सञ्चालन गर्दै आएको छ। सोही कार्यालयमा नेविसंघ तनहुँका अध्यक्ष चुडामणि खनाल नेतृत्वका नेता कार्यकर्ताले तोडफोड गरेका हुन्। उनीहरूले पार्टी कार्यालयको बोर्ड भत्काउनुका साथै नाम लेखिएको ठाउँमा रातो पोतिदिएका छन्।

कार्यालय तोडफोड भएपछि समानान्तर समूह आक्रोशित छ। समितिका सभापति डिल्लीराम अधिकारीले नियोजित रुपमा कार्यालयमा तोडफोड गरिएको बताए।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेता शंकर भण्डारी तनहुँ जिल्लामा रहेकै बेला आक्रमण हुनु दुःखद् भएको अधिकारीको भनाई छ। आफूनिकट नेता कार्यकर्ताले प्रयोग गरेको कार्यालयमा तोडफोड भए पछि कांग्रेस नेता एवं पूर्व सह महामन्त्री गोविन्दराज जोशीले कार्यालयमा तोडफोडको निन्दा गरेका छन्।

बिदाको दिन जिल्लामा नेता रामचन्द्र पौडेल र शंकर भण्डारी निकटका उच्छृंखल व्यक्तिले तोडफोड गरेको भन्दै उनले दोषीमाथि कारवाहीको माग गरे।

नेविसंघ तनहुँका अध्यक्ष खनालले पार्टीको वैधानिक कार्य समिति र कार्यालय हुँदा हुँदै विधानविपरीत विशेष अधिवेशनको घोषणा गर्दै कार्यालय खोलिएकाले आक्रोशित भीडले तोडफोड गरेको जिकिर गरे। एक व्यक्तिलाई रिस उठ्यो भन्दैमा पार्टीलाई कमजोर बनाउन नहुने तर्क गर्दै त्यसलाई रोक्न खोजिएको जिकिर उनले गरे।

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्