नेकपाले सरकार बनाउने प्रचण्डको घोषणाले लालबाबु तनाबमा


 


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ मा नेकपाले सरकार बनाउने बताएका छन् ।

ललितपुरको खुमलटारमा पार्टी प्रवेशको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो पार्टी भएको नेताले सरकार पनि नेकपाले नै बनाउनुपर्ने बताए । उनले प्रदेश २ मा बेथिति र अराजकता मौलाएको बताउँदै यसबाट बचाउन पनि नेकपाले सरकार बनाउनुपर्ने बताए ।

प्रदेश २ को विकासका लागि नेकपाले अब नेतृत्व लिने उनको भनाइ थियो । ‘प्रदेश २ मा हाम्रो पार्टी नेकपा सबैभन्दा ठूलो पार्टी हो’, उनले भने, ‘प्रदेश २ को सरकार र मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । अब सरकारको नेतृत्व नेकपाले लिन्छ ।’

प्रदेश दुईमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संयुक्त रुपमा सरकार बनाएका छन् । मुख्यमन्त्री संघीय फोरमका नेता लालबाबु राउत रहेका छन् ।

प्रचण्डको यो अभिव्यक्तिले संघीय फोरमको नेतृत्वमा रहेको प्रदेश २ को सरकार ढल्ने खतरा बढेर गएको छ । प्रचण्डले घोषणापछि मुख्यमन्त्री लालबाबु राउत तनावमा रहेका छन् । उनले आन्तरिक छलफलाई तिब्र पारेका छन् । पछिल्लो पटक मन्त्रीहरूले बजेट आफ्ना नातेदारहरूलाई नामै तोकेर दिएपछि विवाद र आलोचना हुँदै आएको थियो ।

केन्द्रमा उपेन्द्र यादव नेतृत्वमा संघीय फोरम कम्युनिस्ट सरकारमा सहभागी भएको छ । प्रदेश २ को समीकरणका बारेमा भने प्रचण्डले केही भनेका छैनन् ।

प्रदेश २ मा नेकपा एक्लैले सरकार बनाउन सक्दैन । सरकार बनाउन नेपाली कांग्रेस, संघीय फोरम वा राजपा नेपालको समर्थन आवश्यक पर्छ । कांग्रेसले सरकारमा नजाने यसअघि नै जनाइ सकेको छ ।

 

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्