संसद्मा देउवाले भने : बालुवाटार बेच्नेलाई सरकारले लुकायो


 


काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बालुवाटार जग्गा प्रकरण ढाकछोप गरेको बताएका छन् । संघीय संसद (प्रतिनिधिसभा) को बर्खे अधिवेशनको पहिलो बैठकमा पहिलोपटक बोल्दै देउवाले बालुवाटारको जग्गा बेच्नेलाई सरकारले लुकाएको आरोप लगाए । साथै देउवाले सरकारलाई सुमार्गमा हिँड्न आग्रह गर्दै प्रधानमन्त्रीलाई शुभकामनासमेत दिए ।

उनले वर्तमान सरकार विगतका सरकारले गरेका कामहरुको उद्घाटन गरेर आफैले गरेको भन्ने देखाइरहेको टिप्पणी गरे । उनले सरकारले अहिलेसम्म कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी पत्ता लगाउन नसकेको भन्दै आपत्ति जनाए ।

‘निर्मला पन्तका बलात्कारीलाई सरकारले फेला पार्न सकेको छैन । आम जनतामा सरकारको नियतप्रति आशंका उब्जिएको छ,’ देउवाले भने । सरकार मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको उनको भनाइ थियो ।

कांग्रेस सभापति देउवाले बारा र पर्साका हावाहुरी प्रभावितलाई सरकारले राहत र पुनः स्थापनाको व्यवस्था गर्न नसकेको भन्दै तत्काल राहत प्रदान गरेर पुनः स्थापनाको व्यवस्था गर्न माग गरे ।

अधिवेशन शुरू भएको घोषणालगत्तै सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दलका नेता देउवालाई बोल्न समय दिएका छन् । देउवाले संसदको रोस्टमबाट सम्बोधन गरिरहेका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत उपस्थित छन् ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्