मन्त्री गोकर्ण विष्टका परिवारले पिउने पानीमा विषको अफवाह फैलाउने पक्राउ


 


काठमाडौं । सामाजिक सुरक्षा तथा रोजगार मन्त्री गोकर्ण विष्टको घरपरिवारले पिउने पानीको ट्यांकीमा विष हालिएको भनी हल्ला फिँजाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

इस्मा गाउँपालिकाको वडा–४, दोहली बाझा टोलको गुरुङगाडे भन्ने ठाउँमा रहेको पानी ट्यांकीमा कुनै व्यक्तिले विष हालिदिएको भन्ने हल्ला फैलाउने तीन जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक विजयदत्त तिवारीले बताए ।

उनले ती महिलाको नाम, थर र वतन भने खुलाउन मानेनन् । पक्राउ गरिएका महिलाहरूले एकले अर्कोलाई दोषारोपण गर्ने गरेका छन् । कसले विष हालेको हो र किन हालिएको हो भन्ने कसैले पनि नदेखेको जनाएका छन् ।

विष हाले नहालेको भन्ने प्रमाणका लागि त्यस ट्यांकीको पानी परीक्षण गर्नका लागि जिल्ला सदरमुकाम तम्घास ल्याइएको छ प्रहरीले जानकारी दिएका छन् । इस्मा निवासी विष्णु सुनारका अनुसार अहिले सो खानेपानी उपभोग गर्ने लगभग ५० घरपरिवार जम्मा भएका छन् ।

उक्त ट्यांकीको पानी दोहली र दर्लाम चौरका ३ र ४ वडाका करिब पाँच सय घर धुरीले प्रयोग गर्दै आईरहेको बताइएको छ । त्यही ट्यांकीको पानी मन्त्री विष्टका परिवारले विगतदेखि उपभोग र्गदै आएका छन् । विष मिसाइएको हल्लाले त्यहाँका बासिन्दा पिउने पानीबाट वञ्चित भएका छन् ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्