मिक्लाजुङको नुनसरी–बक्राहा खोलामा भेटियो अत्याधुनिक हतियार


 


उर्लाबारी, बैशाख १६

मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित नुनसरी–बक्राहा खोलामा आईतबार राती अत्याधुनिक हतियार फेला परेको छ ।
नेपाली सेनाले मात्रै चलाउँदै आएको एम १६ ए टु हतियार फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो । अमेरिकामा बन्ने यो हतियारमा प्रोपर्टी अफ युएस गभरमेन्ट लेखिएको छ ।

डीएसपी श्रेष्ठका अनुसार क्यालिवर ५.५६ एमएम र ७४६२५६२ नम्बरको हतियार फेला परेको हो । उहाँले माटो भित्र पुरिएको अवस्थामा फेला परेको हतियारका धेरै पार्टपूर्जाहरु काम नलाग्ने र सडेको अवस्थामा रहेको जानकारी दिनु भयो । प्रहरीले थोत्रो अवस्थामा फेला परेका कारण हतियार धेरै पहिलेदेखि माटोमा पुरिएको हुन सक्ने अनुमान गरेको छ ।

फेला परेको हतियार इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो । उहाँका अनुसार अत्याधुनिक हतियार राईफलसहित म्यागजिन र त्यसमा लोड हुने पाँच राउण्ड गोली फेला परेको छ । द्धन्द्धकालमा सेनाले नेपालमा भित्राएको हतियार माओवादीले त्यही बेला सेनाबाट लुटेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

नुनसरी–बक्राहा खोलामा को १ क २४९० नम्बरको जेसिबीले उत्खनन् गरेर बालुवा र माटो निकाल्ने क्रममा पुरिएको अवस्थामा हतियार फेला परेपछि प्रहरीले खवर पाएको थियो । वातावरणीय प्रभाव मूल्यांकन गरेर सो खोलामा उत्खनन्को अनुमति दिइएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्