सत्तारुढ दल फोरम सरकार छाड्ने तयारीमा


 


काठमाडौं । सरकार बजेटको तयारीमा लागिरहँदा सत्तारुद्ध घटक संघीय समाजवादी फोरम सरकार छाड्ने तर्खरमा छ । सरकारमा गएको एक वर्ष पनि नबित्दै उसले सरकार छाड्ने तयारी गरेको हो ।

गत जेठ १४ गते सरकारमा सहभागी हुने भन्दै गरेको सहमति कार्यान्वयन गर्नेतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै तत्परता नदेखाएको भन्दै फोरम सरकार छाड्ने तयारीमा लागेको हो ।

संविधान संशोधनमार्फत् फोरमले आन्दोलनका क्रममा उठाउँदै आएका माग पूरा गर्ने सहमति भएको थियो । सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै फोरम अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई सार्वजनिक रुपमा नै सरकार छाड्ने चेतावनी दिइसकेका छन् ।

अहिले अध्यक्ष यादव लगायतका नेताहरु १ नम्बर प्रदेशको पार्टी अधिवेसनको काममा व्यस्त छन् । फोरमको वैशाख २१ गते काठाडौंमा केन्द्रीय समिति बैठक बस्दैछ । सो बैठकले सरकार छाड्ने या नछाड्ने भन्नेबारे औपचारिक निर्णय गर्ने नेता आङकाजी शेर्पाले बताउनुभयो ।

सहमतिपछि स्वास्थ्य मन्त्रालय र शहरी विकास मन्त्रालय लिएर फोरम सरकारमा सहभागी भएको थियो । आफै सहभागी सरकारले आफैहरुबीच भएको सहमति कार्यान्वयन गर्न कठिन देखेपछि फोरममै पनि चरम असन्तुष्टि बढेर गएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्