घुस दिने प्रवृत्ति निरुत्साहन गर्न अख्तियारको यो काइदा !


 


काठमाडौं बैशाख १६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतको राजधानी नयाँ दिल्लीबाट आएको बसमा तस्करी गरेर ल्याएको सामान छुटाउन घुस दिन खोज्ने तीन जनाविरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको छ ।

नयाँ दिल्लीबाट नेपालगञ्ज हुँदै गत चैत ३० गते काठमाडौँ आएको ना५ख ४८४२ नम्बरको यात्रुवाहक बसले भन्सार छली गरेको सामान ल्याएको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको थियो । प्रहरीले काठमाडौँ महानगरपालिका–१५ चमतीबाट उक्त बसलाई जाँच गर्दा राजश्व छलीका सामानसमेत फेला परेका थिए ।

राजश्व छली गरेर ल्याएको सामान छुटाउनका लागि बसका चालक श्याम विश्वकर्माले रु तीन लाख, दिपा राना र भरत तामाङले र ५० हजार गरी रु तीन लाख ५० हजार घुस दिन खोजेका थिए ।

प्रहरीलाई घुस दिएर राजश्व छली गरेको सामान छुटाउन खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । बसको छतमा फल्स बटम बनाइ भन्सार छली गरी सामान ल्याउने गरेकोसमेत सो प्रकरणपछि खुलासा भएको थियो ।

आयोगका अनुसार सो बस र सामान छुटाउनका लागि बस चालक विश्वकर्मा, सामान धनीहरु हिटलर शाक्य, दोर्जी डोल्मा लामाले घुस दिएको अनुसन्धानबाट खुलेको र सामान छुटाउन उनीहरुले प्रहरीलाई घुस दिएको तथ्य स्थापित भएकाले आयोगले रु तीन लाखको विगोसहित गत बिहीबार नै विशेष अदातमा मुद्दा दायर गरेको थियो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस दिने प्रवृत्तिलाई निरुत्साहन गर्न आरोपीविरुद्ध नै मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्