इटहरीको क्रिस्चेन चर्चमा हानाहान


 


इटहरी । क्रिश्चियनको धार्मिक स्थल इटहरी वडा नं. ३ को चर्च परम्मेश्वरको मण्डलीका अनुनायीबीच आन्तरिक विवाद चर्केर उग्र रुप लिएको छ। एक समूहले शान्ति सुरक्षाको माग राखेर इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी समेत दिएको छ ।

दस वर्षदेखि क्रिश्चियन धर्ममा सक्रिय इटहरी वडा नं. ३ कै अभिषेक कार्की, उनकी पत्नी आयूसा चौधरी (कार्की), इटहरी वडा नं. २ कै अनु राई र धनकुटा घर भइ इटहरी वडा नं. २ मै बस्दै आएका एलिस गौतमले प्रहरीमा शान्ति–सुरक्षाको माग राखेर उजुरी दिएका हुन् ।

एक साताअघि क्रिश्चिन धर्म प्रचारक कोरियन नागरिक सङ् जाहानले अनु राईको घरमा गएर गाली गलौज गरेको विषयमा दुवै पक्षबीच झैझगडा भएपछि विवाद सुरु भएको थियो । विवाद चर्केसँगै एलिसलाई बुधबार राति चर्चकै अनुनायी केशव दुलालले गलत हल्ला फैलाएको भनी डेरा बसेको ठाउँमै गएर पिटेका छन् ।

‘अहिले म अभिषेकसँगै मिलेर पनि काम गरि रहेको छु, उहाँको असन्तुष्टिप्रति मेरो समर्थन छ, त्यही विषयमा आएर हिजो साँझ म बसेकै स्थानमा आएर मलाई पिट्यो,’ उनले विहीबार दिउँसो भने । एलिसकी श्रीमती कविता दाहाल पनि क्रिश्चिम धर्मकी अनुनायी हुन् । दुवै जना एउटै धर्मका अनुनायी भएकै कारण तीन वर्षअघि प्रेम विवाह भएको हो ।

‘धर्मप्रति असन्तुष्टि जनाएकै कारण मलाई ससुराली पक्षबाट पनि दबाब छ, श्रीमतीसँग पनि झगडा भइरहेको छ,’ उनले भने, ‘अब चर्चबाट कुनै पनि हालतमा मेरी श्रीमतीलाई अभिषेकसँग नमिल्नका लागि दबाब दिइएको छ। धर्म मान्ने स्वतन्त्रता सवैलाई छ ।’ अभिषेकसँग मिलेकै कारण आफूलाई क्रिश्चियन धर्मको अर्को समूहले निसाना बनाएको एलिसको गुनासो छ।

‘मैले श्रीमतीको भनाई पनि मान्नु परेको छ। तर चर्चकै कारण सम्बन्धमा खटपट पनि सुरु भएको छ,’ उनले भने, ‘समस्या तत्काल समाधान नहुँदा श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने अवस्था समेत आउन सक्छ ।’ एलिस घटनालाई साम्य पार्न चाहन्छन । तर, श्रीमती र ससुराली पक्षको भने अभिषेकसँग हिड्दै नहिड्न दबाब छ । कुटपिटको घटनालाई प्रहरीले मिलापत्र गरेर टुंग्याउने गरि विहीबार एक चरण छलफल समेत भएको छ।
एक साताअघि भएको घटनामा संलग्न कोरियाली नागरीक ‘सङ जाहान’ भने फर्कि सकेका छन् । प्रहरीमा उजुरी पर्नसाथ सङ् जाहान फर्किएका हुन् । उनी अनु राईलाई घरमै गएर विवादले उग्र रुप लिएको थियो । त्यसपछि अनुमाथि कुटपिट भएको थियो ।

लगतै, प्रहरी कार्यालयमा शान्ति सुरक्षाको माग राखेर उजुरी दिइएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईका अनुसार धाक धम्की दिएकाले शान्ति सुरक्षाका लागि उजुरी दिएकाले गर्दा प्रहरीले एकपटक छलफलका लागि बोलाएपनि घटना नटुगिएकाले दोस्रोपटक छलफलमा डाकेको जानकारी दिए । ‘एउटा समूह पहिलाका चर्च छाडेर एकअर्काबीचको रिसिइबीले गर्दा विवाद भएको देखिन्छ,’ उनले भने, ‘यसलाई शान्ति सुरक्षाका लागि मात्र भनेर उजुरी आएपनि त्यसैलाई आधार मानेर गम्भीर अनुसन्धान भइरहेको छ ।’

अहिले चर्चको कार्यसँग अभिषेक कार्कीको एउटा समूह असन्तुष्ट छ । असन्तुष्ट समूहले क्रिश्चियन धर्म छाडेको जिकिर गरेका छन् । अर्को समूह चर्चमै रहेको प्रमिला राई तथा मनोज भण्डल बचाउँ गर्ने पक्षमा सक्रिय रुपमा जुटेका छन् । अभिषेक समूहले चर्चमा आउने अनुनायीलाई भ्रम फैलाएको अर्को समूहको आरोप छ ।
चर्चका मुख्य पादारी रोशन श्रेष्ठले भने कोरियाली नागरिक र अनु राई समूहसँग विवादसँगै सम्बन्ध आफूलाई यकिन नभएको बताए । अनुकै समूहमा रहेका अभिषेकसहितको असन्तुष्टि पनि कोरियाली नागरिकसँगै भएको जिकिर गरे ।

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्