९ दिनपछि रिना बस्नेतको दाहसंस्कार, रिनाको कनेक्सन समाजका प्रतिष्ठितसँग


 


मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा ९ दिनअघि गत शनिबार नग्न अबस्थामा मृत फेला परेकी २९ वर्षिया रुपा भनिने रिना बस्नेतको आइतबार दाहसंस्कार गरिएको छ । घटनाको अनुसन्धानलाई प्रभावकारी बनाएर जतिसक्दो चाँडो सत्यतथ्य पत्ता लगाउने सहमतिपछि आफन्त र परिवारका सदस्यले सुनसरीको चतरा घाटमा शवको अन्त्येष्टी गरेका हुन् । वीरबहादुर बस्नेतको घरको तीन तलामाथि १४ वर्षीय छोरासहित डेरा बस्दै आएकी रिना यही बैशाख ७ गते शनिबार विहान निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन । बलात्कारपछि हत्या गरिएको र प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भनेर पथरी उद्योग वाणिज्य संघकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर स्थानीय बासिन्दा आन्दोलित बनेका थिए ।

आन्दोलनका कारण सोमबार र मंगलबार पथरी बजार तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २९ सेल अश्रुग्यास प्रहार गर्दा ५ जना घाइते भएका थिए । झडपमा परेर तीन प्रहरी पनि घाइते भए । हत्यामा संलग्नलाई कारवाही हुनु पर्ने, शान्ति सुरक्षा कायम गर्नु पर्ने, महिला हिंसा बन्द गर्नु पर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएकाले शनिबार इलाका प्रहरी कार्यालय पथरी अगाडि धर्ना पनि दिए ।
शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम रिपोर्टले पनि छात्ती भित्र तथा टाउकोमा लागेको गम्भीर चोटका कारण मृत्यु भएको देखाएको र हत्या भएको प्रमाण अहिलेसम्म फेला नपरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार कुनै हतियार प्रहार नगरिएको र बलात्कारपछि हत्या गरेको कुरा पोस्टमार्टम रिपोर्टले देखाउँदैन ।

‘अहिलेसम्मको अनुसन्धानले हत्या भएको र त्यसमा कोही कसैको संलग्नता रहेको देखाउँदैन,’ श्रेष्ठले भने, ‘माथिबाट झरेका कारण मृत्यु भएको कुरा पोस्टमार्टम रिपोर्टले पनि बोल्छ ।’ विभिन्न परीक्षणका लागि फरेन्सिक ल्याब (विधी विज्ञान प्रयोगशाला) पठाइएको र त्यसको रिपोर्ट भने प्राप्त भइनसकेको उनको भनाइ छ । श्रेष्ठले फरेन्सिक रिपोर्ट आइसकेपछि थप कुरा खुल्ने र विष वा मदिरा सेवन केही गरेको भए पत्ता लाग्ने जानकारी दिए ।
घटनाको अनुसन्धानका लागि डीएसपी नवराज ढुंगानाको नेत्रृत्वमा इन्सपेक्टर सुवास भट्राई सहितको विशेष टोली खटिएको छ । अहिलेसम्म प्रहरीले घटनाका विषयमा २५ जनासँग सोधपुछ गरिसकेको छ । मृत्यु भएकी रिनाको सम्पर्क र कनेक्सन व्यापारी एवं समाजका प्रतिष्ठित व्यक्तिहरुसँग रहेको देखिएको छ । त्यही सम्पर्कका आधारमा थप अनुसन्धान गर्ने र कनेक्सन खोतल्ने काम भइरहेको डीएसपी श्रेष्ठको भनाइ छ । त्यस क्रममा रिनाका प्रेमी भनिएका र उनीसँग निरन्तर सम्पर्कमा रहने गरेका मोरङ सुन्दरहरैंचाका व्यापारी कमल नेपाललाई यस अघि नै पक्राउ गरेर प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । रिनासँग  कनेक्सन देखिएपछि उर्लाबारीका व्यापारी नेत्र घिमिरेलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।

घटनाका विषयलाई लिएर अनुसन्धानको दायरामा ल्याउनु पर्ने आवश्यक ठानिएकाहरुमाथि सोधपुछ भइरहेको छ,’ डीएसपी श्रेष्ठले भने, ‘यस घटनालाई लिएर कमल नेपाल र नेत्र घिमिरेलाई अली बढी शंकाको घेरामा राखेर अनुसन्धान गर्ने काम भइरहेको छ ।’ घटनासँग जोडेर गर्नु पर्ने अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराखेको उनको भनाइ छ । घटनापछि वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका रिनाका पति सन्तोश बस्नेत पथरी आइसकेका छन् । रिनाले पथरीमा कस्मेटिक पसल सञ्चालन समेत गरेकी थिइन । बैशाख ६ गते शुक्रबार साँझ छिमेकीको नानीको जन्मदिन मनाउन गएको र त्यसपछि उनी पथरीमै आयोजित कन्सर्ट हेर्न छोरालाई साथमै लिएर गएको खुलेको छ । घरमा राति फर्किएर छोरा सुतेपछि घटना भएको प्रहरीको भनाइ छ ।

रिनाको मृत्यु भएको रात वरपरका सीसी क्यामेरा फुटेजमा शव भेटिएको सडकमा मध्यरातमा एउटा रिक्सा गुडेको देखिए पनि रिक्साको पहिचान भइसकेको र घटनामा संलग्नता नरहेको प्रहरीले जनाएको छ । यता रिनाका आफन्त र परिवारका सदस्यहरुले भने घटनाको अनुसन्धाननै प्रभावित पार्ने गरी आन्दोलन गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

हिंसा भड्काउने र घटनालाई अतिरञ्जित बनाउने काम भएको परिवारको बुझाई छ । ‘कतिपयले आन्दोलनका नाममा प्रहरीले गरेका विगतका कारवाहीको रिस पोख्ने अवसरका रुपमा सदुपयोग गर्दै यस घटनालाई उत्तेजित बनाएर हिंसा भड्काउने प्रयास भयो,’ रिनाका एक आफन्तले भने, ‘हामीले यो कुरा बुझेपछि शवको अन्त्येष्टी गर्दै प्रहरीलाई घटना अनुसन्धानमा थप सहयोग गर्ने निर्णय ग¥यौं ।’

रिनाका जेठाजु दुर्गाबहादुर बस्नेतले घटनापछि अहिलेसम्म प्रहरीले गरेको अनुसन्धानबाट आफन्त र परिवारका सदस्य सन्तुष्ट रहेको बताए । उनले केही दिन भित्रमै प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउने विश्वास बढेर गएको बताए । यसैबीच रिनाको अन्त्येष्टिमा संघर्ष समितिमा आवद्ध भएकाहरु गएनन् । समितिकी संयोजक पराजुलीले अन्त्येष्टिका नाममा न्यायलाई तिलाञ्जली र आहुती दिन आफूहरु नगएको दावी गरिन् । ‘बलात्कारपछि हत्या भएकाले हत्यारा पत्ता नलागुनजेलसम्म दाहसंस्कार गर्न हुँदैन भन्ने हाम्रो सुझाव थियो ।

न्यायका निम्ति हामी लडिरहँदा परिवार र आफन्तले साथ दिएनन्,’ उनले भनिन्, ‘हामीलाई खवर नगरिएका कारण अन्त्येष्टिमा गएनौं । संघर्ष समितिलाई नै बाईपास गर्दै प्रहरीसँग समन्वय गरेर शवको दाहासंस्कार गरिएको कुरामा हाम्रो चित्त बुझेन ।’ परिवारका सदस्य र आफन्तले साथ नदिएपछि आन्दोलनका लागि भनेर गठन गरिएको संघर्ष समिति आइतबार साँझ विघटन गरिएको छ । साभार : पुर्बेली न्यूजबाट 

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्