इमरानको वैवाहिक जीवनबारे कार्यक्रम देखाए, च्यानलमाथि १० लाख जरिवाना


 


एजेन्सी पाकिस्तान इलेक्ट्रोनिक मिडियाको नियामक संस्थाले शनिबार नीजि टिभी च्यानलमाथि १० लाख पाकिस्तानी रुपैयाँ जरिवाना लगाएको छ । च्यानलले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको वैवाहिक जीवनमा केन्द्रीत एक कार्यक्रम देखाएको थियो । यसमा इमरान खान र उनकी तेस्री श्रीमती बुशरा बीबीको सम्बन्धमा तित्तता छाएको दाबी गरिएको थियो ।

पाकिस्तानी इलेक्ट्रोनिक मिडिया नियामक निकायले च्यानललाई अबको सात दिनसम्म आफ्नो प्राइम टाइम कार्यक्रममा लगातार माफीको प्रसारण गर्न निर्देशन दिएको छ ।

पाकिस्तान क्रिकेट बोर्डका भूतपूर्व अध्यक्ष नजम सेठीले च्यानल २४ न्यूजको कार्यक्रम ‘नजम सेठीसँग’ मा इमरान खानको श्रीमतीसँगको सम्बन्धमा खटपट भइरहेको दाबी गर्दै यसमा खानका केही बानी जिम्मेवार भएको बताएका थिए ।

सेठीले आफ्नो कार्यक्रममा इमरान खानको तेस्रो विवाह पनि उनका पछिल्ला दुई विवाह झैं हुने दाबी गरेका थिए ।

सेठीको उक्त कार्यक्रमपछि इमरानले गरेको उजुरी पाकिस्तानी इलेक्ट्रोनिक्स मिडिया रेगुलेटरीलाई सुम्पिएको थियो ।

निकायले पाकिस्तानको उजुरीबारे अनुसन्धान गरेपछि च्यानललाई आदेश जारी भएको सात दिनभित्र १० लाख पाकिस्तानी रुपैयाँ दण्डको रुपमा जम्मा गराउन र सात दिनसम्म त्यही कार्यक्रममा माफीसमेत माग्नुपर्ने निर्देशन दिएको छ ।

निकायका अनुसार यदि च्यानलले निर्देशनको पूर्णतः पालना नगरेको खण्डमा कार्यक्रम ‘नजम सेठीसँग’ को प्रशारण ३० दिनसम्म प्रतिबन्ध लगाइनेछ । यी आरोपमाथि इमरान खानले बयान जारी गर्दै आफू श्रीमतीसँग निकै खुसी भएको स्पष्टिकरण दिए । उनले भने, ‘हामी जीवनको अन्तिम दिनसम्म पनि खुसी हुनेछौं ।’

सेठीले आदेशको जवाफमा ट्वीट गरे, ‘कोही पनि सार्वजनिक व्यक्तित्व, यहाँसम्म कि प्रधानमन्त्रीले पनि यो दाबी गर्न सक्दैनन् कि उनीहरुको नीजि जीवन जनताबीच राख्न सकिँदैन । पाकिस्तानको संविधानको अनुच्छेद ६२ र ६३ अन्तरगत यसको अधिकार हामीसँग छ ।’

सेठीले लेखे, ‘कृपया हामीलाई बताउनुहोस् कि कुन बयान इमरान खानलाई झुटो र आपत्तिजनक लाग्यो । अचम्मको कुरा त के छ भने तपाईंले हामीलाई एकपटक पनि आफ्नो पक्ष राख्ने मौकासमेत दिनुभएन । यदि यो मामला भोलिको दिनमा साँचो प्रमाणित भयो भने के होला ? के तपाईं हामीलाई १० लाख रुपैयाँ दिनुहुन्छ ?’

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्